धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिनको माग गर्दै दीपेन्द्र अग्रवालले हिरासतमै थाले भोकहड्ताल

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनको मागसहित प्रहरी हिरासतमा रहेका सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवालले अनिश्चितकालीन भोकहड्ताल सुरु गरेका छन्।

अग्रवालले आईपीओ निष्कासन प्रक्रियामा विभिन्न कम्पनीबाट करोडौँ रुपैयाँ घूस लिएको आरोप सेबोन अध्यक्ष श्रेष्ठमाथि लगाएका छन्। विशेषगरी रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको वातावरण मिलाइदिए बापत ९ करोड ५० लाख रुपैयाँ घूस लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा श्रेष्ठविरुद्ध थुप्रै उजुरी परेका छन्।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमा भएको इन्साइडर ट्रेडिङ प्रकरणमा सेबोनबाट भइरहेको अनुसन्धान कमजोर बनाउने शर्तमा ७ करोड रुपैयाँ घूस लिएको आरोपसमेत सेबोनकै एक कर्मचारीले अख्तियारमा दर्ता गराएको उजुरीमा उल्लेख छ। उक्त रकम आफ्ना भतिजमार्फत लिइएको दाबी गरिएको छ।

यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले पनि आईपीओ स्वीकृतिअघि बिचौलिया प्रयोग गरी ७ प्रतिशतसम्म कमिसन मागिएको भन्दै अध्यक्ष श्रेष्ठमाथि संस्थागत रूपमा सार्वजनिक आरोप लगाएको थियो। ती विषयमा पनि अख्तियारदेखि अर्थ मन्त्रालयसम्म उजुरीहरू पुगेका छन्।

नियुक्तिको एक वर्ष नपुग्दै भ्रष्टाचारको आरोप खेपिरहेका अध्यक्ष श्रेष्ठको विरोध गरेकै कारण आफूलाई पुराना फाइल खोलेर पूर्वाग्रही ढंगले पक्राउ गरिएको अग्रवालको आरोप छ। सेबोनभित्र मौलाएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा हिरासतमा पुर्‍याइएको भन्दै उनले अध्यक्ष श्रेष्ठसहित दोषी सबैमाथि छानबिन र कारबाहीको माग गरेका छन्।

अग्रवाललाई गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउ परेकै दिनदेखि उनले अन्नपानी नलिएको उनकी पत्नीले बताएकी छन्।

अग्रवालले धितोपत्र बजारमा भएको भित्री कारोबार, सेयर मूल्य चलखेल तथा अन्य आर्थिक अपराधसम्बन्धी सबै अनुसन्धान फाइल पुनः खोल्नुपर्ने माग गरेका छन्। सेबोन अध्यक्ष स्वयं भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै उनले बजारमा गलत गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा नल्याइएसम्म पानीसमेत नखाने घोषणा गरेका छन्।

सेबोनको प्रारम्भिक अनुसन्धानमा जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार भएको देखिएपछि थप अनुसन्धानका लागि फाइल सीआईबीमा पठाइएको थियो। सो प्रतिवेदन सीआईबीमा पुगेको केही दिनमै अग्रवाल पक्राउ परेका हुन्। फाइल पठाउनुअघि सेबोन अध्यक्ष श्रेष्ठले आफूलाई दबाब र बार्गेनिङ गरेको अग्रवाल पक्षको आरोप छ।

सम्बन्धित खबर

सिफारिस