सिन्धुलीका केशवराज हायुको हत्यामा संलग्न दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडा घर भएका २५ वर्षीय सुनिल भन्ने केशवराज हायुको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–४ कोटगाउँ घर भई ललितपुर महानगरपालिका–७ चाँगाथलीमा बसोबास गर्दै आएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारी रहेका छन् ।

ललितपुर महानगरपालिका–८ शेराफाँट, लुभुस्थित तरकारी बारीको इनारमा केशवराजको शव बुधबार फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा शुक्रबार देवराजलाई पक्राउ गरेको हो ।

त्यसैगरी, जयरामलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले भोजपुर अरुण गाउँपालिका–३ घर भएका २१ वर्षीय पारूहाङ राईको गत मंसिर २५ गते हत्या गरी शव भक्तपुर सूर्यविनायक नगरपालिका–७ देउराली भञ्ज्याङस्थित झाडीमा फालेको तथ्यसमेत खुल्न आएको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।