काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) नीतिअनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकार जस्ता विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही क्रममा बैंकले आर्थिक वर्ष २०८२ ८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासका कार्तिक र मंसिर महिनामा विभिन्न सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस अन्तर्गत बैंकले जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूका लागि पूर्ण स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य शिविर सञ्चालन तथा नसर्ने रोगको रोकथामसम्बन्धी कार्यशाला आयोजना गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
त्यसैगरी भदौ ३२ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य सहज बनाउन बैंकले ५ थान कम्प्युटर सेट र ५ थान टेबल सहयोग स्वरूप प्रदान गरेको छ ।
बैंकले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिणपूर्वमा रहेको अदानचुली गाउँपालिका वडा नं.१ का ६५ घरधुरी दलित समुदायका विपन्न परिवारहरू, हलिया, लगी र खलोको रूपमा जीविकोपार्जन गरिरहेका व्यक्तिहरू, अनाथ बालबालिका, एकल महिला तथा एकल पुरुषहरूलाई खाद्यान्न सहयोग उपलब्ध गराउने उद्देश्यले एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बागलुङ जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लाका श्री पृथ्वी माध्यमिक विद्यालय, श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसूर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सुरक्षित र सहज शौचालय सुविधा उपलब्ध गराउन आधुनिक शौचालय निर्माणका लागि विभिन्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको छ ।
यसैगरी बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययनरत १८० जना विद्यार्थीलाई जाडोबाट बचाउन १८० थान न्यानो कपडा वितरण गरिएको छ । साथै गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मुनलाइट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
बैंकले सञ्चालन गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास महालक्ष्मी विकास बैंकले व्यक्त गरेको छ ।