अत्यधिक चिसोका कारण बारा, पर्सा र रौतहटका विद्यालय पाँच दिनका लागि बन्द

दियोपोस्ट संवाददाता  

काठमाडौँ । केही दिनयता तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै ती जिल्लाका पालिकाले पाँच दिनका लागि पठनपाठन स्थगित गरेका हुन् ।

पर्सा जिल्लामा वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार चिसो अत्यधिक बढेकाले विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको हो ।

त्यस्तै रौतहट जिल्लामा गौर नगरपालिका, कटहरिया नगरपालिका, ईशनाथ नगरपालिका, चन्द्रपुर नगरपालिका लगायतका स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेका छन् । रौतहटका अधिकांश पालिकाले सामुदायिक तथा निजी विद्यालय दुवैमा लागू हुने गरी पाँच दिनका लागि पठनपाठन रोकिएको जनाएका छन् ।

बारा जिल्लामा समेत चिसो बढ्दै गएपछि विभिन्न नगरपालिका तथा गाउँपालिकाले विद्यालय बन्दसम्बन्धी सूचना जारी गरेका छन् । कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानीय तहले चिसोका कारण बालबालिकालाई विद्यालय पठाउन जोखिमपूर्ण हुने निष्कर्षसहित विद्यालय बन्द गरिएको बताएका छन् ।

स्थानीय तहका अनुसार चिसो अझै केही दिन कायम रहने मौसम पूर्वानुमान रहेकाले अवस्था सहज नहुन्जेलसम्म विद्यालय बन्दको अवधि बढ्न सक्नेछ । यसैबीच, अभिभावकहरूलाई बालबालिकालाई न्यानो वातावरणमा राख्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन समेत आग्रह गरिएको छ ।