
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । समसामयिक राजनीतिक अवस्थाबारे परामर्श छलफल गर्न अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने गरी कार्यक्रम तय भएको हो ।
भेटका लागि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रोतका अनुसार आजको परामर्शमा प्रमुख रूपमा सभाको चुनाव, मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरिने बताइएको छ ।
आजको भेटभाटलाई राष्ट्रपति कार्यालयले संविधानप्रतिको प्रतिबद्धता देखाउँदै राजनीतिक पक्षहरूलाई परामर्शमार्फत समझदारीमा ल्याउने गतिविधिको एक निरन्तरता भएको व्याख्या गरिएको छ।