जाँचबुझ आयोगद्वारा पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्राचार

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले औपचारिक पत्राचार गरेको छ। आयोगका अनुसार लेखकलाई ७ दिनभित्र आयोगको कार्यालयमा उपस्थित भएर बयान दिनुपर्ने गरी पत्र पठाइएको हो।

जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, निर्णय प्रक्रिया र तत्कालीन गृह मन्त्रालयको भूमिकासम्बन्धी विषयमा लेखकसँग स्पष्टिकरण लिने बताइएको छ।

जेनजी आन्दोलनका बेला भएका घटनासँग सम्बन्धित सबै सरोकारवालाको बयान लिने प्रक्रिया चलिरहेको छ। त्यसैक्रममा तत्कालीन गृहमन्त्रीका रूपमा लेखकसँग पनि जानकारी लिन पत्र पठाइएको आयोगले जनाएको छ ।

आयोगले हालसम्म आन्दोलनसँग सम्बन्धित विभिन्न सरकारी अधिकारी, सुरक्षाकर्मी, राजनीतिक नेतृत्व तथा आन्दोलनका प्रतिनिधिहरूसँग बयान लिइसकेको जनाएको छ। प्राप्त विवरणका आधारमा आवश्यक देखिएका व्यक्तिलाई क्रमशः बोलाइँदै गएको आयोगको भनाइ छ।

पूर्व गृहमन्त्री लेखकले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर आयोगको पत्र प्राप्त भएको र कानुनी प्रक्रिया अनुसार आवश्यक सहयोग गर्ने तयारी रहेको निकट स्रोतले जनाएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जेनजी आन्दोलन जाँचबुझ आयोगले आन्दोलनका क्रममा भएका घटना, राज्यको प्रतिक्रिया, मानवअधिकारको अवस्था तथा जिम्मेवारी निर्धारणसम्बन्धी विषयमा अध्ययन गरिरहेको छ।

आयोगले आफ्नो प्रतिवेदन तोकिएको समयसीमाभित्र सरकारलाई बुझाउने तयारी गरिरहेको जनाएको छ।

सम्बन्धित खबर