राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीन दलका शीर्ष नेतासँग छलफल

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन।

छलफलमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, संविधान कार्यान्वयन, सरकार–संसद सम्बन्ध, फागुन २१को निर्वाचन, समसामयिक राजनीतिक चुनौती र राजनीतिक स्थायित्वका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक ध्रुवीकरणका कारण यी तीन शीर्ष नेता करिब एक वर्षपछि पहिलो पटक एउटै टेबलमा औपचारिक छलफलमा सहभागी भएका हुन्। यसअघि उनीहरूबीच प्रत्यक्ष संवाद सीमित रहँदै आएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको संक्रमणकालीन अवस्थामा सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै न्यूनतम राजनीतिक समझदारीमा जोड दिएकी थिइन्। राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि संवाद र सहमति अपरिहार्य रहेको बताएका थिए।

पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरता कम गर्ने, प्रमुख दलहरूबीच संवादको वातावरण बनाउने र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भेटघाटको उद्धेश्य रहेको बताइएको छ।

छलफलबाट कुनै औपचारिक निर्णय सार्वजनिक नगरिए पनि आगामी दिनमा संवादलाई निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस