नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एसएसपी गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

हाल नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत गिरीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै अख्तियारले अनुसन्धानपछि मुद्दा दायर गरेको हो।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सुरक्षा निकायमा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी विभिन्न पद, लाभ र सुविधा प्राप्त गरेका थिए।

गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटना बाट एसएलसी उत्तीर्ण गरेको भनी शैक्षिक प्रमाणपत्र पेश गरेका थिए। तर सो प्रमाणपत्रबारे बिहार विद्यालय परीक्षा समिति, पटनाबाट प्राप्त अभिलेखअनुसार अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिएकाले गिरीको एसएलसी प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार सोही नक्कली एसएलसी प्रमाणपत्र प्रयोग गरी गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ तथा २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको प्रमाणपत्रसमेत हासिल गरेका थिए।

उक्त शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी गिरीले २०५२ साल पुस १६ गते नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा प्रारम्भिक नियुक्ति लिएका थिए। त्यसपछि पनि तीनै झुट्टा तथा नक्कली प्रमाणपत्र प्रयोग गर्दै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म बढुवा हुनुका साथै विभिन्न तालिम, सुविधा र लाभ लिएको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार गिरीले पद, ओहोदा, लाभ र सुविधा प्राप्त गर्ने क्रममा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (९) बमोजिमको कसुर गरेको पुष्टि भएको छ।

त्यसैले साविक ऐनको दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (९) अनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित खबर