
काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
आयोगद्वारा जारी विज्ञप्तीअनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो । आयोगको पौष ७ को बैठकले मिति २०८२ पौष १५ देखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको जनाएको छ ।
नियुक्त निर्वाचन अधिकृतहरूमा कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भिमराज प्रसाई, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभभावु पुरी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठ रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासे, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशशरण पण्डित, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल तथा सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा रहेका छन् ।
आगयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख भएअनुसार नियुक्त निर्वाचन अधिकृतहरूले मिति २०८२ पौष १६ मा सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाएको जनाएको छ ।
