काठमाडौँ । जेनजी आन्दोलनका अगुवा डा. निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामाको माग गर्दै आमरण अनशन सुरु गरेका छन्। भुसाल माइतीघर मण्डलामा मंगलबार रातिदेखि आमरण अनशनमा बसेका हुन् ।
सरकारले पछिल्ला जेनजी आन्दोलनका मागहरू पुरा नगरेको र जेनजी आन्दोलनका घाइते, शहिद परिवारको न्यायका लागि सरकारका बिरुद्धमा आमरण अनशन सुरु गरेको भुसालले बताए ।
सरकारप्रति निराश व्यक्त गर्दै उनले प्रधानमन्त्री तथा गृहमन्त्रीको राजीनामा र आवश्यक राजनीतिक सुधारको माग राखेका छन् । अनशनमा राजतन्त्र पक्षधर रविकिरण हमाललगायत जेनजी युवाहरुको सहभागिता देख्न सकिन्छ ।
बिहिवारको आन्दोलनमा भुसालसहित रविकिरण हमाल, मिराज ढुंगाना लगायतका युवा नेता माइतीघर मण्डलामा प्रदर्शनमा सहभागी भएका थिए । जहाँ उनीहरूले सर्वपक्षीय सरकार गठन, प्रधानमन्त्री सुशीलाकार्कीको राजीनामा, भ्रष्टाचार मुक्त शासन, र न्यायिक प्रक्रिया सुचारु गर्नुपर्ने लगायतका माग समावेश गरेका थिए ।
प्रहरीले प्रशासनको अनुमति नलिई प्रदर्शन गरिएको भन्दै प्रदर्शनकारीलाई तितरबितर पार्दै आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो ।
यही प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप पनि भएको थियो जहाँ निकोलस भुसाल, रविकिरण हमाल, मिराज ढुंगाना र दर्जनौं युवा गतिविधिमा सहभागी पक्राउ परेका थिए ।
