नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने २३ वर्षीय युवक काठमाडौंबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । आफूलाई लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त भएको भनी झुटो परिचय देखउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२२ झोछेमा बसोबास गर्दै आएका तथा ललितपुर महानगरपालिका–१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाकसहित नक्कली परिचयपत्र देखाउँदै हिड्ने गरेका थिए ।

सोही सूचनाका आधारमा श्रेष्ठमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सिफारिस