बिवाह संस्कार सिकाउने नाममा कलिला विद्यार्थीलाई प्रयोग गरि ‘बिवाह मञ्चन’ गराउने एभरेस्ट स्कुल विवादमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । बुटवलस्थित एभरेस्ट इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गरी विवाहको मञ्चन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको छ। मंगलबारदेखि सामाजिक संजालमा फैलिएको उक्त भिडियोमा एकै उमेर समूहका विद्यार्थीहरू हिन्दू परम्पराअनुसार विवाहका विधि पूरा गरिरहेको देखिन्छ।

भिडियोमा विद्यार्थीहरू दुलहादुलही, पण्डित, जन्ती र अभिभावकको भूमिकामा प्रस्तुत भएका छन्। मण्डप निर्माण, यज्ञ परिक्रमा, कन्यादान र सम्धेलो लगाउनेजस्ता विधि समेत गरिएको देखिएको छ ।

उक्त कार्यक्रम मंसिर महिनामा विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमअन्तर्गत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ। तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई बालविवाहलाई प्रोत्साहन गर्ने प्रस्तुति भन्दै आलोचना गरेका छन्।

सामाजिक संंजाल प्रयोगकर्ताहरूले ‘विद्यालय जस्तो शैक्षिक संस्थानले बालबालिकालाई विवाहजस्तो विषयमा प्रयोग गर्नु गलत सन्देश दिन सक्ने’ भन्दै आपत्ति जनाएका छन्।

यस विषयमा एभरेस्ट इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य कृष्णप्रसाद न्यौपानेले बालविवाह नभई संस्कृतिको मञ्चन मात्रै गरिएको दाबी गरे। उनले
यो बालविवाह नभएर सांस्कृतिक कार्यक्रम मात्रै भएको बताए । उनले भने, “अभिभावकको मन्जुरी लिएर विद्यार्थी सहभागी गराइएको हो। हिन्दू संस्कार मात्र होइन, अन्य धर्म र समुदायका परम्पराहरू पनि प्रस्तुत गरिएको थियो।”

उनका अनुसार विद्यालयले हरेक वर्ष नेपालका विभिन्न धर्म, संस्कृति र परम्परा झल्कने कार्यक्रम आयोजना गर्दै आएको छ।

उता, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उक्त भिडियो भर्खरै हेरेको बताउँदै विद्यालयसँग स्पष्टीकरण सोधिने जानकारी दिए।

“विद्यार्थीलाई सामाजिक कार्यमा प्रयोग गर्दा संवेदनशील हुनुपर्छ,” उनले भने, “उपप्रमुखको नेतृत्वमा अनुगमन गरिनेछ। आवश्यक परे कानुनी प्रक्रिया पनि अगाडि बढाइनेछ।”

भाइरल भिडियोसँगै विद्यालयको सांस्कृतिक प्रस्तुति र बालअधिकार तथा कानुनी सीमाबारे बहस सुरु भएको छ।

 भिडियाे :

   

सम्बन्धित खबर

सिफारिस