काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘वृहद एकता’ सहकार्यसम्बन्धी औपचारिक सहमति भएको छ। सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको साझा एजेन्डालाई अघि बढाउने उद्देश्यसहित दुवै पक्षबीच सहमति भएको पत्रमा उल्लेख छ।
सहमति पत्रअनुसार नेपालमा लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्दै आम नागरिकका समस्याको समाधान गर्न र सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ। २०८२ साल मंसिर २३ र २४ गतेको जन–आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई स्मरण गरिएको छ।
सहमतिको मुख्य बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध भएको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारको यथोचित सम्मान गर्ने, आर्थिक-सामाजिक सुधार र संरचनागत परिवर्तनमार्फत नेपाललाई समावेशी मध्यम-आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।
त्यसैगरी, वृहद एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, पार्टीको झण्डा हालकै स्वरूपमै कायम रहने, चुनाव चिन्ह घण्टी रहने तथा केन्द्रीय कार्यालय काठमाडौंमै रहने सहमति भएको छ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ।
वृहद एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूको सहभागिता सुनिश्चित गरिने तथा जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिने सहमति गरिएको छ। यस सहमतिबमोजिम रास्वपाले आवश्यक दस्तावेज निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता गर्नेछ।
सहमति पत्रमा रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समृद्धि र सामाजिक न्यायका लागि अघि बढ्न अन्य सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिएको छ।
उक्त सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहको हस्ताक्षर रहेको छ।
यस्तो छ सहमति-(पूर्णपाठ)
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन(जी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरुको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरुको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोश्रो पक्ष) बीच देहायका सहमति भएको छ।
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउने ।
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने ।
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टीू, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ुघण्टीु र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ुघण्टीु मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
