
Screenshot
काठमाडौँ । सिरहाको बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका सत्यनारायण साफी यतिबेला चर्चामा छन् । दलित समुदायका साफी ज्याला मजदुरी गर्दै स्वअध्ययनबाट एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए पछि उनको चर्चा चुलिएको हो ।
छात्रवृत्तिमा पढ्न पाए पनि बसोबास, खानपान, यातायात र अध्ययन सामग्रीका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने भएकाले सत्यनारायण र उनको परिवार चिन्तामा छ । दैनिक ज्याला-मजदुरीमै जीवन चलाउँदै आएको परिवारलाई थप खर्च जोहो गर्नु चुनौती बनेको छ ।
छिमेकी र शुभेच्छुकबाट केही आर्थिक सहयोग आएको भए पनि दीर्घकालीन रूपमा पढाइ सहज बनाउन सरकारी सहयोग आवश्यक रहेको सत्यनारायणको भनाइ छ ।
गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट २०७७ मा एसईई उत्तीर्ण गरेका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा कक्षा १२ पास गरेका थिए ।
त्यसपछि उनले ज्याला माजदुरी गर्दै स्वअध्ययनमार्फत चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा सहभागी भएका थिए । मजदुरीबाट आएको पैसाले किताब किन्दै पढेका साफीले अन्ततः पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।
आमा सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी लिएर यही ८ पुसमा उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना गराइदिएकी थिइन् ।
अभाव र गरिबीबीच पनि निरन्तर मिहिनेत र आत्मविश्वासले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका सत्यनारायण साफी आज गाउँकै प्रेरणाका स्रोत बनेका छन् ।