निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता-२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार सम्पन्न बैठकले आचारसंहिता अनुमोदन गरेको हो ।

स्वीकृत आचारसंहिता माघ महिनाको पहिलो सातादेखि लागू हुने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यसअघि आयोगले आचारसंहिता २०८२ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकायहरूबाट सुझाव माग गरेको थियो । प्राप्त सुझावहरूलाई समेटेर आचारसंहिता अन्तिम रूप दिइएको आयुक्त भण्डारीले बताए ।

यसपटक आचारसंहिताको दायरा अघिल्ला निर्वाचनको तुलनामा अझ व्यापक बनाइएको आयोगको भनाइ छ ।
आयुक्त भण्डारीका अनुसार पहिले सचेतनामुखी रहेको आचारसंहिता अहिले कार्यान्वयन र कारबाहीमुखी बनाइएको छ ।

तत्काल आचारसंहिता लागू गर्दा सरकारका नियमित कामकारबाही प्रभावित हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघ पहिलो सातादेखि लागू गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।

सिफारिस