काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले प्रसारण इजाजतपत्र तथा लाइसेन्स नविकरण गर्न सम्बन्धित सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ।
विभागले राष्ट्रिय प्रसारण ऐन, २०७५ तथा राष्ट्रिय प्रसारण नियमावली, २०७६ बमोजिम रेडियो, टेलिभिजन तथा अन्य प्रसारण सेवाहरूले तोकिएको म्यादभित्र इजाजतपत्र तथा लाइसेन्स नविकरण गर्नुपर्ने जनाएको छ। विभागका अनुसार इजाजतपत्र तथा लाइसेन्स नविकरणका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
सूचनामा उल्लेख भएअनुसार प्रसारण संस्था तथा सञ्चार माध्यमहरूले विभागको अनलाइन प्रणाली मार्फत आवश्यक विवरण अद्यावधिक गरी नविकरण प्रक्रिया पूरा गर्न सक्नेछन्। तोकिएको समयभित्र नविकरण नगरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन सक्ने विभागले स्पष्ट पारेको छ।
सूचना तथा प्रसारण विभागले सबै सम्बन्धित प्रसारण सेवा प्रदायकहरूलाई समयमै प्रक्रिया पूरा गर्न तथा थप जानकारी आवश्यक परेमा विभागसँग सम्पर्क गर्न आग्रह गरेको छ।