फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने ‘नेकपा’की नेतृ पम्फा भुसालको घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फबाट उम्मेदवार नबन्ने निर्णय गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा उनले ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको उम्मेदवारी प्रस्ताव स्वीकार नगरेको स्पष्ट पारेकी हुन् ।

भुसालले आफू तत्कालीन माओवादीबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेको एक्ली महिला उम्मेदवार भएको उल्लेख गर्दै काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा चुनाव जित्नु चुनौतीपूर्ण रहेको बताएकी छन् । आगामी निर्वाचनमा उम्मेदवारी दिने–नदिने विषयमा देशभरबाट जिज्ञासा आइरहेकाले आफ्नो धारणा स्पष्ट गर्न स्टाटस लेखेको उनले जनाएकी छन् ।

उनका अनुसार, यसपटक प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने ठम्याइका आधारमा गरिएको हो । दुई पटक प्रत्यक्ष चुनाव जितिसकेको र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकाले अब पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने उनले बताएकी छन् ।

साथै, भुसालले अहिलेसम्म अवसर नपाएका सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष तथा समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्नेमा जोड दिएकी छन् । अपवादबाहेक यसपटक पहिले नै अवसर पाइसकेकाहरूले उम्मेदवारी नदिनु उपयुक्त हुने उनको स्पष्ट धारणा रहेको छ ।

उनले उम्मेदवारी प्रस्ताव गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै पार्टी र आन्दोलनको दीर्घकालीन हितका लागि आफूले यो निर्णय लिएको बताएकी छन् ।