काभ्रे, मंसिर २० । धुलिखेल नगरपालिकाले नगरमा फ्रिवाइफाइको सुरुवात गरेको छ । केही दिन अघि नगरको सरस्वती बजार परिसरबाट फ्रिवाइफाइको सुरुवात गरिएको जानकारी प्रमुख अशोक ब्यान्जुले दिए । एक वार्ड एक स्थल फ्रिवाइफाइ अन्तर्गत यस्तो अभियान सुरु भएको जानकारी उनले दिए ।
वडा ७ को सरस्वती पार्कबाट सुरु गरेको यस्तो सेवा नगरका अन्य स्थानमा पनि सुरु गर्ने नगरपालिकाले जनाएको छ ।
नगरका पर्यटकीय स्थल, मुख्य बजार, सांस्कृतिक महत्वका स्थान, राजमार्ग तथा चोकहरुमा फ्रिवाइफाइको व्यवस्था गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । विस्तारै थप ठाउँहरुमा वाइफाइको व्यवस्था हुँदै जाने नगरपालिकाको भनाई छ । नगरप्रमुख ब्यान्जुको अनुसार नगरका विभिन्न १२ वटा स्थानमा फ्रिवाइको लागि एक वर्ष अघिदेखि नै काम भएको हो ।
खानेपानीसहितका अरु पूर्वाधाकार लागि धुलिखेल निक्कै व्यवस्थित नगरपालिका हो । नगरलाई सूचनामैत्री, स्वस्थ, हराभरा, सफाइ, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि नमूना बनाउन आफूहरु लागिरहेको उनी बताउँछन् ।
पर्यटकीय नगर धुलिखेललाई आन्तरिक र बाह्य पर्यटकले पनि रुचाउँने गर्छन् । धुलिखेलबाट सिन्धुली हुँदै पूर्वी तराई पुग्न सकिन्छ । साथै, कोदारी मार्गबाट तातोपानीसम्म जाने बाटो पनि धुलिखेल भएरै जान्छ ।
सरस्वती बजारपछि अब जिल्ला प्रशासन कार्यालय, नगरपालिका कार्यालय परिसर, भगवती मन्दिर परिसर, खेल मैदान, सरकारी कार्यालय क्षेत्र, मनोरञ्जन पार्क, पर्यटकको भीडा लाग्ने हजार सिँढी क्षेत्र देवीस्थान मन्दिर आसपास, सिन्धुली जाने बिपी मार्ग चोक र नारायणस्थान मन्दिर आसपास पनि विस्तारै वाइफाइन जडान गर्दै जाने तयारी नगरको छ । फ्रिवाइफाइका लागि इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।