काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० वटा चेक गायब पारिएको छ। मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) हरिमान लामाको इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएका ती चेक गायब पारिएका हुन्। स्रोतका अनुसार ट्राभल कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार गायब पारिएका १० वटा चेक करिब ७ करोड २४ लाख रुपैयाँबराबरका छन। यो रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवाशुल्क रकम हो। तर, चेक बैंकमा नपुगी कार्यालयबाटै गायब पारिएको हो।
‘कार्यालयमा चेक रिसिभ गरेको कागजपत्र छ,’ प्राधिकरणका महानिर्देशक गौतमले भने, ‘ती चेकबाट बैंकमा भने पैसा जम्मा भएको छैन्।’ उनका अनुसार यसको मतलब कार्यालयबाटै चेक गायब भएको बुझ्नुपर्छ। ती चेक अकाउन्ट पेयी हुन्। यस्ता चेकको रकम सम्बन्धित कार्यालयको बैंक खातामा जम्मा हुन्छ। तर रकम बैंकमा जम्मा नभएपछि ती चेक कसैले लगेर साटेको भन्दा पनि मिलेमत्तोमा कार्यालयबाटै गायब गरिएको हो।
चेक रिसिभ भएको तर बैंकमा जम्मा नभएको थाहा पाएपछि प्राधिरकणले छानबिन थालेको छ। ‘चेक रिसिभ गरी बैंकमा जम्मा नगरेको पाइएपछि हामीले छानबिन समिति बनाएका छौं,’ गौतमले भने, ‘छानबिन चलिरहेको छ।’ उनका अनुसार चेक रिसिभ गरेर गायब पारिनु गम्भीर अपराध हो। यस्तो कार्यमा संलग्नमाथि फौजदारी अभियोगमा कारबाही लाग्छ। भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिनेगरी त्यस्ता कर्मचारी सेवाबाट बर्खास्तसमेत हुन सक्ने प्राधिकरणले जनाएको छ। चेक गायब भएपछि विमानस्थल कार्यालयलाई एयर एसियाबाट बक्यौता रकम उठाउन सकस परेको छ।
ती चेक गायब हुँदा विमानस्थल कार्यालयमा देवानदन उपाध्याय महाप्रबन्धक थिए। हाल उनी प्राधिकरणमा उपमहानिर्देशक पदमा कार्यरत छन्। उनीपछि (१० महिनायता) विमानस्थल कार्यालयको महाप्रबन्धक राजकुमार क्षत्री छन्। महाप्रबन्धक क्षत्रीका अनुसार ती चेकसहितको रकम जोड्दा एअर एसियाले विमानस्थललाई बुझाउन बाँकी बक्यौता २१ करोड हारहारी पुगेको छ।
असोज २७ गतेबाट नेपालमा उडान बन्द गरेको एयर एसियाले बक्यौता रकम तिर्न आनकानी गरिरहेको छ। बक्यौता नबुझाई उडान बन्द गर्ने भएपछि असोज २७ मा नेपालबाट अन्तिम उडान गर्दा एक घण्टासम्म जहाज ग्राउन्डेड गरिएको थियो। एयर एसियाको मुख्य कार्यालयबाट रकम तिर्ने प्रतिबद्धता तथा नेपालस्थित मलेसियाली दूतावासबाट रकम उठाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि जहाज उडन दिइएको थियो।
मुख्य कार्यालय तथा दूतावासलाई गुर्हादासमेत अहिलेसम्म रकम तिर्ने मनसाय एयर एसियाले देखाएको छैन्। ताकेता भने विमानस्थल कार्यालयले बारम्बार गरिरहेको महाप्रबन्धक क्षत्रीले बताए। ‘यो बक्यौता रकम म आउनुअगाडिकै हो,’ उनले भने, ‘४० करोड हारहारी बक्यौता थियो, ताकेता गदागर्दा २१ करोडमा झरेको हो।’ उनका अनुसार उडान बन्द गरे पनि ताकेता गरिरहेकाले बक्यौता रकम उठ्नेमा विमानस्थल कार्यालय विश्वस्त छ।
विमानस्थल प्रयोग गरेबापत हवाई कम्पनीले विकास, ल्यान्डिङ, पार्किङ, हवाई परिवहन, सुरक्षालगायत शुल्क तिर्नुपर्छ। एयर एसियाको बक्यौता पनि यिनै शीर्षकको हो।