बाढीले बगाएर भारत पुर्‍याएको एकसिङ्गे गैँडा फिर्ता ल्याइयो

दियो पोस्ट  

चितवन, पुष २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ ।

गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन ।

यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन् । अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ ।

उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो ।

सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल बताए ।  शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेस्र्याइ रातभर जाग्राम बसेर छेकेका थिए ।

आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर ९बन्दुकबाट औषधि पठाई लठ्याएर० नियन्त्रणमा लिइएको थियो । “रातभर जाग्राम बसेर सुस्तावासीले गैँडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो”, अर्यालले भने ।

आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो ।

झण्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ ।

TATA ADD

सिफारिस