
काठमाडौं । एक ३३ वर्षीय महिला । कहिले जिल्ला प्रहरी परिसर त कहिले प्रहरी हेडक्वार्टर बाहिरको दृश्य । आफूलाई प्रहरी कर्मचारी हुँ भन्दै चिनाउँदै हिँड्ने एक महिलाको सम्बन्धमा सुरुमा एक अनलाइनमा समाचार आउँछ, दान बहादुर कार्कीको नाममा पैसा उठाउँदै एक युवती ।
दान बहादुर कार्की अर्थात् प्रहरी महानिरीक्षककै नाममा पैसा उठाएको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले तत्कालै यो विषयमा चासो लियो । त्यसपछि उक्त समाचार आएको सञ्चारमाध्यममा ती युवतीबारे सोधखोज भयो । सुरुमा प्रहरी प्रधान कार्यालयले नै झूटो समाचार हालेर महानिरीक्षक कार्कीको बदनाम गराउन खोजेको भन्दै तत्काल समाचार हटाउन भन्यो । त्यसपछि उक्त अनलाइनले उक्त समाचार केही समयमै हटायो ।
पछि सोही समाचार खप्तड अनलाइन टिभीमा समाचार बनेर आयो । दुई वटै अनलाइनमा समाचार आएपछि प्रहरी प्रधान कार्यालयले ती व्यक्ति को हुन् भनी सोधखोज गरी प्रहरी महानिरीक्षकसँग सम्बन्धित व्यक्ति भन्दै विभिन्न व्यक्तिहरूलाई डर धम्की दिई पैसा उठाएको आरोप लागेकी एक युवतीलाई प्रहरी वृत्त सातदोबाटोबाट नियन्त्रणमा लियो ।
ती युवती थिइन्, लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भई काठमाडौंको नयाँ बानेश्वरमा बस्ने ३३ वर्षीय रिता पौडेल ।
सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रितालाई सातदोबाटोबाट पक्राउ गरी कार्यालयमा लगेर सोधपुछ सुरु गर्यो । सोधपुछमा उनले आफूले कुनै प्रहरी कर्मचारीको नाम लिएर धम्की नदिएको र रकम नउठाएको दाबी गरिन् ।
तर प्रहरीले उनीमाथि अनुसन्धान अगाडि बढायो । अनुसन्धान किन बढायो भने प्रहरीसँग उनले आफू प्रहरी कर्मचारी भएको, भर्खरै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग भेटघाट गरेको, लागू औषधको ठुलो कारोबारीलाई भर्खरै पक्राउ गरेको, आफू एक डिएसपीको श्रीमती रहेको लगायतका कुराहरू गर्ने गरेकी थिइन् । त्यसको अडियो प्रमाण र केही स्कृनसटहरु प्रहरीसँग त्यसअघि नै पुगिसकेको थियो ।
तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्थात् अपराध महाशाखाका प्रहरीसँग न उनको सम्बन्धमा कुनै जाहेरी वा उजुरी थियो, न अन्य कुनै थप जानकारी नै थियो । यद्यपि प्रहरीले उनको भूमिकामा शंका लागेपछि उनको मोबाइल बैंकिङ, बैंक स्टेटमेन्ट, च्याट डिटेल, कल रेकर्ड लगायतका विवरण हेर्न थालेको थियो ।
यही सम्बन्धमा रिता पौडेल नाम गरेकी युवती पक्राउ परेको सूचना एक युवतीसँग पुग्यो । ती युवती थिइन्, परिवर्तित नाम शंकर खड्काकी श्रीमती परिवर्तित नाम सुनिता श्रेष्ठ खड्का । उनी थिइन्, यिनै रिता पौडेलबाट पीडित बनेकी एक महिला । रिताले सुनिताका श्रीमान् शंकर खड्कालाई हनी ट्र्यापमा पारी ७९ लाख रुपैयाँ लिइसकेको र थप रकमका लागि समेत ब्ल्याकमेल गरिरहेकी थिइन् ।

रिताले केही समय अघिदेखि शंकर खड्कालाई ब्ल्याकमेल गर्न थालेकी थिइन्, र ब्ल्याकमेल दैनिकरुपमा बढेपछि शंकरले सबै कुरा आफ्नी श्रीमती सुनिता श्रेष्ठलाई बताएका थिए । सुरुमा शंकरले नै रितालाई ४७ लाख रुपैयाँ पठाइसकेका थिए भने शंकरको मोबाइल बैंकिङ, सिमकार्ड आदि सबै रिताको कब्जामा थियो ।
रिताले शंकरसँग थप रकमको माग गर्दै थप रकम नदिने बलात्कारको केसमा फसाइदिने धम्की दिने गरेकी थिइन् । शंकरले बलात्कारको जाहेरीबाट बच्न र इज्जत जोगाउन आफ्नी श्रीमती सुनिता श्रेष्ठमार्फत पनि ३२ लाख रुपैयाँ दिइसकेका थिए । शंकरले कुल ७९ लाख रुपैयाँ रिता पौडेलको बैंक खाता, रिताले चलाएको शंकरको मोबाइल बैंकिङ, कनेक्ट आइपिएस आदिबाट चलाइसकेकी थिइन् । तर उनलाई त्यति रकमले पनि नपुगेर थप रकमको बार्गेनिङ गरिरहेकी थिइन् ।
रिताको ब्ल्याकमेलबाट आजित बनेकी सुनिता त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगिन् । पहिले पक्राउ परेकी व्यक्ति त्यही महिला हो कि होइन भन्ने निक्र्यौल गरिन् अनि श्रीमानसँग कुरा गरेर ठगी र आपराधिक लाभको कसुरमा जाहेरी दर्ता गर्ने कुरा गरिन् ।
श्रीमतीले नै जाहेरी दिने कुरा गरेपछि शंकरले सबै प्रमाणहरू श्रीमतीलाई पठाइदिए जहाँ रिताले आफू कहिले डिएसपीको श्रीमती रहेको बताएकी थिइन् भने कहिले आफू सिभिलको प्रहरी कर्मचारी रहेको बताउँथिन् । कहिले प्रहरी महानिरीक्षकसँग निकट सम्बन्ध भएको र भनेको स्थानमा पोस्टिङ गराइदिने आश्वासन दिन्थिन् कहिले भर्खरै आइजिपीसँग मिटिङ भयो भनेर सुनाउने वा सन्देश पठाउने गर्थिन् । यी सबै अडियो र म्यासेजका स्कृनसटहरु सुनितालाई पठाइदिए । त्यसपछि सुनिताले आफ्नो श्रीमानको तर्फबाट प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिन पुगिन् ।
तर सुरुमा प्रहरी वृत्त कालीमाटीले जाहेरी लिन नै आनाकानी गर्यो । प्रहरीलाई रिताले पठाएको म्यासेजको स्कृनसटहरु, प्रहरी हो भनी बताएको अडियो रेकर्डहरू ब्ल्याकमेल गरिरहेको म्यासेजको स्कृन सट आदि सबै देखाउँदा पनि कालीमाटी प्रहरीले आनाकानी गरेको पीडित शंकर खड्काले दियोपोस्टसँग बताए ।
पछि प्रहरीलाई दबाब परेपछि प्रहरी वृत्त कालीमाटीले रिताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा गत साउन २५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।
टिकटकबाट चिनजान, भेटघाट गर्न कतारसम्म पुगिन् रिता
प्रहरीले काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको अभियोग पत्रमा उल्लेख भए अनुसार रिता र शंकरको चिनजान करिब डेढ वर्षअघि टिकटकमार्फत भएको थियो । आफू नेपाल प्रहरीमा कार्यरत रहेको र लागू औषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गरेको भन्दै विभिन्न तस्बिरसमेत देखाउने गरेकी थिइन् । प्रहरी कार्यालय अगाडिको तस्बिर पोस्ट गर्ने, भर्खरै आइजिपीलाई भेटेर आएको र रिपोर्टिङ गरेर आएको लगायतका कुरा गरेपछि शंकरले रिता प्रहरी कर्मचारी नै हो भन्ने बुझेका थिए । रिताले आफूलाई एक डिएसपीकै श्रीमती हो भन्ने गरेकी थिइन् भने श्रीमानसँग सम्बन्ध राम्रो नभएको समेत बताउने गरेकी थिइन् ।
कतारमा कार्यरत रहेका शंकरसँग रिताले आफ्नो पारिवारिक समस्या सुनाउँदै भावनात्मक रूपमा नजिकिएको र पछि दुवैबिच आपसी सहमतिमै शारीरिक सम्बन्धसमेत भएको दुवै पक्षले स्वीकार गरेका छन् । रिता र शंकर नजिक भएपछि रिता कतारसमेत पुगेर करिब १५ दिन शंकरसँगै बसेर नेपाल फर्किएकी थिइन् । रिता दोस्रो पटक पनि कतार गएर ‘छोराको मृत्यु भएको’ भन्दै एक सातामा फर्किएकी थिइन् । पछि शंकर नेपाल आउँदासमेत रिता र शंकर दिनको समयमा रिताको कोठामा सँगै बस्ने गरेका थिए ।
अनि सुरु भयो ‘पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने’ भन्दै ब्ल्याकमेल
पीडित शंकरको तर्फबाट उनकी श्रीमती सुनिताले प्रहरीमा दिएको जाहेरीमा उल्लेख भए अनुसार कतारबाट नेपाल आएका बेला पनि रिता र शङ्करबिच भेटघाट तथा कुराकानी भएको थियो । शंकर कतार फर्कने तयारीमा रहेका बेला भने रिताले उनी विरुद्ध जबरजस्ती करणी लगायतका मुद्दा लगाएर जेलमा सडाइदिने, विदेश जान रोक्ने र भविष्य बर्वाद पारिदिने भन्दै धम्की दिन सुरु गरेकी थिइन् र बदलामा रकम माग गर्न थालेकी थिइन् ।
‘जेल जान र बाँच्न मन छ भने पैसा दिनु’ भन्दै रकम माग्न थालेको र आफूहरूबिचको सम्बन्ध सहमतिमा भएको भन्दै शंकरले त्यस्तो नगर्न आग्रह गर्दा पनि धम्की नरोकिएको जाहेरीमा उल्लेख छ । रकम दिएपछि पनि ‘यत्तिले मात्र पुग्दैन’ भन्दै थप पैसा मागिएको तथा सक्कल नागरिकता र मोबाइल बैंकिङको पहुँचसमेत दबाबमा राखी रिताले लिएको पाइएको छ । विदेशमा रोजगारीमा फर्कनुपर्ने बाध्यताका कारण शंकरले रितालाई नागरिकता र मोबाइल बैंकिङको पहुँच दिएको र त्यही सिमकार्ड, मोबाइल बैंकिङ आदि प्रयोग गरेर रिताले रकम अपचलन गरेको, ठगी र आपराधिक लाभ लिएको जाहेरीमा उल्लेख छ ।

रिताले कहिले आफू झुन्डिएर मर्ने भन्दै तस्बिर तथा सन्देश पठाउने, कहिले विभिन्न प्रहरी कर्मचारीसँग आफ्नो पहुँच रहेको दाबी गर्ने र विभिन्न मुद्दामा फसाइदिने धम्की दिने गरेकी थिइन्, जुन रिताले शंकरलाई पठाएको म्यासेज र अडियोमा समेत उल्लेख छ ।
तर रितालाई ४७ लाख दिइसक्दा पनि उनको ब्ल्याकमेल नरोकिएपछि शंकरले उक्त कुरा आफ्नी श्रीमती सुनितालाई भनेका थिए । सुनिताले पनि अब जे गल्ती गर्नुभयो त्यो भइसक्यो, अब गल्ती नगर्नु भन्दै रिताको ब्ल्याकमेलभन्दा इज्जत नै ठुलो भन्दै थप ३२ लाख रुपैयाँ पनि दिएको पाइएको छ । तर पनि रिताले ब्ल्याकमेल गर्न कहिल्यै नछाडेको र नातागोताका व्यक्तिलाई समेत सम्पर्क गरी ब्ल्याकमेल गर्न थालेपछि पीडितहरू बल्ल प्रहरीको शरणमा पुगेका थिए ।
मोबाइल बैंकिङको पहुँचबाट रकम स्थानान्तरण
अभियोग पत्रमा पीडितको मोबाइल बैंकिङमा रिताको पहुँच रहेको र सोही माध्यमबाट रकम अन्य खातामा स्थानान्तरण गरिएको उल्लेख छ । रिताले धम्की र दबाब दिएपछि शंकर कतारमै रहेको अवस्थामा पटक पटक आफ्नै बैंक खातामा रकम जम्मा गराएको र उक्त सबै रकम रिताले विभिन्न बैंक खातामा स्थानान्तरण गर्नुका साथै विभिन्न स्थानमा तिरेको पाइएको छ ।
त्यहीमध्येको एक सितापाइलमा रहेको प्रिमियर अटोमोबाइल्स प्रालिको सिद्धार्थ बैंकमा रहेको खातामा शंकरकै बैंक खाताबाट ६ लाख ८० हजार रुपैयाँ जम्मा भएको देखिएको छ । त्यसै गरी सोही दिन शंकरका साथी विवेक मण्डलको नामबाट पटक-पटक ५ लाख रुपैयाँ गरी कुल ११ लाख ८० हजार जम्मा भएको पाइएको छ । त्यस्तै अक्षय कुमार शर्मामार्फत रिताकै ग्लोबल आईएमई बैंकको खातामा १० लाख र १ लाख रुपैयाँ जम्मा भएको विवरण अभियोग पत्रमा रहेको छ । शंकरले नगद तथा बैंकिङ प्रणालीबाट गरी आफूले रितालाई ४७ लाख रुपैयाँ बुझाउनु परेको बताएका छन् ।
यसमा थप रूपमा सुनिता श्रेष्ठले आफूले विभिन्न स्रोतबाट जुटाएर रितालाई ३२ लाख रुपैयाँ दिएको बताएकी छन् । श्रीमानलाई बचाउने हो भने पैसा दिनुपर्ने भन्दै रिताले आफू र परिवारका सदस्यलाई समेत धम्की दिएपछि उनले समेत पैसा दिएर कुल ७९ लाख रुपैयाँ बुझाएको अभियोग पत्रमा उल्लेख छ ।
आपराधिक लाभको पैसा लुकाउन साथीको नाममा घडेरी किन्न बैना कागज !
अनुसन्धानका क्रममा रिताले आपराधिक लाभबाट प्राप्त गरेको र गर्ने रकमबाट अर्कै व्यक्तिको नाममा जग्गा किन्न बैना गरेको समेत पाइएको छ । जग्गा कारोबारमा संलग्न गुमान आले मगर र विनोद बानियाँको घटना विवरण कागजमा उल्लेख भए अनुसार रिताले धादिङकी विमला नगालको नाममा काठमाडौंको तारकेश्वर-चिसापानी क्षेत्रमा ४ आना घडेरी किन्न बैना गरेकी थिइन् ।
घडेरी हेरेपछि बैना रकमबापत एक लाख रुपैयाँ सुरुमै मोबाइल बैंकिङमार्फत दिएकी थिइन् भने पछि सोही समयको ३५ दिनपछिको मिति राखेर ३० लाख रुपैयाँको चेकसमेत दिएकी थिइन् ।
यही जग्गा कारोबारसँग जोडिएर प्रिमियर अटोमोबाइल्सको खातामा समेत रकम जम्मा गरिएको पाइएको छ । अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरूका अनुसार रिताले २०८२ मङ्सिर १९ गते प्रिमियर अटोमोबाइल्सको खातामा ६ लाख ८० हजार र ५ लाख गरी ११ लाख ८० हजार रुपैयाँ जम्मा गरेकी थिइन् । उक्त रकम गाडी मर्मतको भुक्तानीसँग जोडिएको देखिए पनि घटनासँग सम्बन्धित व्यक्तिहरूले पछि सो रकमको स्रोत र प्रयोजनबारे बयान दिँदा उक्त रकम रिताले तिर्नुपर्ने रकमबाट दिइएको र उक्त रकम जग्गा बैनासँग सम्बन्धित रहेको बताएका छन् । उक्त रकम रिताले विमलाको नाममा बैना गरेको जग्गाका लागि विनोद बानियाँको गाडी दुर्घटनापछि भएको मर्मतका लागि तिरेको पाइएको हो ।
अनुसन्धानका क्रममा रिताले नै विमलाको नाममा जग्गा बैना गर्न लगाएको र पछि रकम भुक्तानी गर्न नसकेपछि विवाद उत्पन्न भएर बैना नै फिर्ता गरिएको पाइएको छ ।
‘नक्कली जाहेरी’ देखाएर थप धम्की
अनुसन्धानका क्रममा रिताले विभिन्न प्रहरी कार्यालयमा जाहेरी परेको जस्तो देखिने कागजातको तस्बिरसमेत शंकरलाई पठाएको पाइएको छ । रिताले शंकरलाई पठाएको म्यासेजमा पनि अब तँ नेपाल आउँदा सिधै एयरपोर्टबाट जेलमा जाने हो भनेर धम्की दिएको पाइएको छ । रिताले जिल्ला प्रहरी परिसर काठमाडौँका तत्कालीन समयमा दोस्रो वरियतामा रहेका पवन भट्टराईको नाम लिँदै मुद्दा दर्ता गर्न लागेको र तोकसमेत लागिसकेको बताउने गरेकी थिइन् । तर अनुसन्धानका क्रममा रिता र पवनकुमार भट्टराईबिच चिनजानसमेत नरहेको पाइएको थियो ।
यसरी पटक पटक ह्वाट्सएपमा झुटा जाहेरी पठाएर आफू विरुद्ध मुद्दा हाल्न लागेको र अब जेल जानुपर्ने भन्दै थप रकम माग गरिएको आरोप छ ।
चलाख रिताको दाबी नै फरक
आपराधिक लाभको रकम आफ्नै नाममा वा बैंक खातामा देखिए समस्या पर्ने भन्दै साथीको नाममा जग्गा बैना गराएकी रिताको बयान भने फरक छ । रिताको बयानमा शंकरले आफ्नो डिभोर्स भइसकेको र विवाह गर्ने आश्वासन दिएपछि आफूहरूबिच शारीरिक सम्बन्ध बनेको बताएकी छिन् । आफूलाई विवाह गर्ने आश्वासन दिइएको र पछि शंकर विवाहित रहेको तथा डिभोर्स नभएको थाहा पाएपछि आफू टाढिएको उनको बयानमा उल्लेख छ ।
रिताले शंकरलाई जबरजस्ती करणी लगायतका मुद्दामा फसाइदिने धम्की दिएको, मोबाइल बैंकिङ कब्जामा राखेर पैसा स्थानान्तरण गरेको तथा विभिन्न व्यक्तिसँग मिलेर आपराधिक लाभ लिएको आरोप पनि अस्वीकार गरेकी छन् । उनका अनुसार शंकरले विदेशबाट फर्कँदा आफ्नो नागरिकता तथा अन्य सामान आफूलाई राख्न दिएको तर आफूले जबरजस्ती नलिएको बताएकी छिन् ।

रिताले अक्षय कुमार शर्माबाट आफ्नो ग्लोबल आईएमई बैंक खातामा जम्मा भएको ११ लाख रुपैयाँ शंकरकै आग्रहमा आएको र त्यसपछि शंकरले दिएको खातामा रकम पठाएको दाबी गरेकी छन् । प्रिमियर अटोमोबाइल्समा तिरेको रकमको सम्बन्धमा आफूलाई थाहा नभएको बताएकी छिन् । जबकि जग्गा विक्रीकर्ता विनोद र गुमानले भने जग्गा बैना गरेपछि तिर्नुपर्ने रकम रिताले अटोमोबाइल्सको खातामा हालिदिएको स्वीकार गरेका छन् र सो कुराको स्वीकारोक्ति रिताकी साथी, जसको नाममा जग्गा बैना गरिएको थियो, विमला नगालले पनि स्वीकार गरेकी छिन् ।
रिताले सामाजिक सञ्जालमा ‘झुन्डिएर मर्छु’ भन्ने तस्बिर तथा सन्देश पठाएको स्वीकार गरे पनि त्यो ब्ल्याकमेलिङका लागि नभई शंकरले विवाहको आश्वासन पूरा नगरेको र आफूलाई परेको पीडाका कारण पठाएको दाबी गरेकी छिन् । शंकरसँग भएको च्याट आफ्नै भएको स्वीकार गरे पनि कति रकम लिएको हो भन्ने सम्बन्धमा स्पष्ट जवाफ दिएकी छैनन् । दियोपोस्टलाई प्राप्त च्याटको स्कृनसटमा रकम लिएको कुरा स्वीकार गर्दै आफूले पुरानो पैसा फिर्ता गर्ने र आफूलाई थप ३० लाख रुपैयाँ चाहिएको कुरा बताएकी छिन् ।
यी सबै तथ्य, बैंक स्टेटमेन्ट, बुझिएका व्यक्तिहरूले गरेको बयान कागज, सामाजिक सञ्जालका म्यासेज, कल डिटेल, डिजिटल फरेन्सिक परीक्षण, यात्रा विवरण तथा विभिन्न व्यक्तिका घटना विवरणलाई आधार बनाउँदै रिताले डर, त्रास र धम्की देखाएर बैंकिङ तथा नगद माध्यमबाट कुल ७९ लाख रुपैयाँ आपराधिक लाभ लिएको दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
अदालत बन्यो नरम, ‘हेर्दाहेर्दै’पछि डेढ लाख धरौटीमा रिहा
प्रहरी वृत्त कालीमाटीको प्रहरी प्रतिवेदनका आधारमा गत साउन २५ गते काठमाडौं जिल्ला अदालतमा रिता विरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको भएको थियो । उक्त मुद्दामा साउन २६ गते न्यायाधीश ध्रुवकुमार ढकालको इजलासमा बयान भएको थियो । उक्त दिन थुनछेक बहस नसकिएपछि उक्त मुद्दालाई साउन २७ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
साउन २७ गते थुनछेक प्रयोजनका लागि सुनुवाइ हुँदा न्यायाधीश ढकालले रितासँग १ लाख ५० हजार रुपैयाँ मात्रै धरौटी माग गरेका थिए । सो धरौटी बुझाएर रिता रिहा भएकी छिन् ।
काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सरकारी वकिल पक्ष भने रितालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उच्च अदालत पाटनमा जाने तयारी गरेको छ ।