जलेर नष्ट भएका कालिकोटको ८७ घर प्रदेश सरकारले बनाइदिने

दियो पोस्ट  

काठमाडौँ, पुष ९ । कालिकोटको पलाँता गाउँपालिका–१ को खाडाबस्तीमा आइतबार राति आगलागी भएर जलेका ८७ घर प्रदेश सरकारले बनाइदिने भएको छ ।

आज अग्नीपीडितलाई खाद्यान्न र लत्ताकपडा लिएर खाडाबस्ती पुगेका प्रदेश ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगोले जलेर नष्ट भएका ८७ वटै घर प्रदेश सरकारले बनाईदिने घोषणा गरेका हुन् ।

खाडाबस्तीका अन्य खरको छानो भएको घरहरुलाई पनि विस्थापित गरी बस्ती विकास कार्यक्रम अन्तर्गत सबै घरको पुनर्निर्माण गरिने मूख्यमन्त्री शाहीले बताए । यसअघि पनि खाडाबस्तीमा आगलागी भएकोले बस्ती नै अन्यत्र सार्ने वा त्यही ठाउँमा बस्ती विकास गरिने भन्ने विषयमा प्रदेश सरकारले बैठक बसेर निर्णय लिने शाहीले बताए ।

पलाँताका नविन न्यौपानेको घरबाट सल्किएको आगोका कारण ८७ घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा ७ जना घाइते भएका छन् । पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने घाइते भएका प्रहरीले जनाएको छ ।