एक हप्ताभित्र संविधान संसोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता,राजपालाई सरकार नछोड्न आग्रह

दियो पोस्ट  

काठमाडौँ, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन गर्न आफु तयार भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपालले सरकार लाई दिएको समर्थन फिर्ता लिन खोजेपछि प्रधानमन्त्री ओली संविधान संसोधन गर्न तयार भएका हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राजपा नेपालका नेताहरुसंग भएको छलफलमा प्रधानमन्त्री ओलीले छिटोभन्दा छिटो राजपाको माग र सिंगो मधेशी जनताको माग पुरा हुने गरि संविधान संसोधन हुने बताएका छन् । उनले राजपालाई तत्काल सरकारबाट समर्थन फिर्ता नलिन समेत आग्रह गरेका छन् । सरकारलाई एक हप्ताको समयसिमा दिनको लागि प्रधानमन्त्री ओलीले राजपा नेतासमक्ष आग्रह गरेका छन् ।

राजपाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि आन्तरिक छलफल चलिरहेका समयमा प्रधानमन्त्री ओलीले हतार नगर्न आग्रह गरेका छन् । मधेशी जनताको हकहितका लागि सरकारले पनि उच्च प्राथमिकताका साथ सोचेको बताउँदै माग गरिएअनुसारका विषयलाई सरकारले सम्वोधन गर्ने बताए ।

राजपा नेपालका नेताहरुले आफुहरु सत्तामा आउनको लागि सरकारलाई समर्थन नगरेको स्पष्ट पारे । संविधान संसोधन गराउन तथा मधेशका मुद्धाहरुलाई किनारा लगाउनको लागि आफुले सरकारलाई समर्थन गरेको राजपा नेता राजेन्द्र महतोले बताएका छन् । संविधान संसोधन गर्ने विषयमा सरकार चुप लागेर बसेपछि आफुहरु सरकारबाट बाहिर निस्कन खोजेको समेत स्पष्ट पारेका छन् ।

उनिहरुले संविधान संसोधन गर्नुपर्ने लगायत प्रतिनिधि सभामा निर्वाचित सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउने व्यवस्था सरकारले मिलाउनुपर्ने माग रोखेका छन् । त्यस्तै राजनीतिक आन्दोलनमा परि जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा गरि माफी दिनुपर्ने लगायतका मागहरु प्रस्तुत गरेका छन । यी मागहरु सम्वोधन भए सरकारम रहिरहने नत्र समर्थन फिर्ता लिने राजपाले बताएको छ ।