निर्मला हत्याको अनुसन्धान अब आइजिपी आफैले गर्ने, ६ जनाको टोलीसहित कञ्चनपुर प्रस्थान

दियो पोस्ट  

काठमाडौँ, पुष ११ । निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुरतर्फ लागेका छन् । निर्मला हत्याको एक सय ५० दिन बित्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकेपछि आइजीपी खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ लागेको हो । अनुुसन्धानलाई अब नयाँ शीराबाट शुरु गर्ने भन्दै आइजीपीसहितको टोली वुधबार त्यसतर्फ लागको हो ।

टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका डिएसपी, अपराध महाशाखाका सई गजेन्द्र रावललगायत छन् ।

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने भएको छ ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ । हालसम्म पक्राउ परी अनुसन्धान भइरहेकामाथि नयाँ कोणबाट अनुसन्धान गर्ने कार्यक्रम रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।