काठमाडौँ, पुष ११ । सरकारले तीनै स्थानिय तहमा कर्मचारी परिपुर्ति गराउनको लागि कर्मचारी समायोजनको प्रक्रिया थालेको छ । विभिन्न वहाना देखाई समायोजनमा नजाने कर्मचारीहरुलाई २१ दिनभित्र समायोजनमा जानको लागि आवेदन दिएको छ ।
स्थानिय तहमा कर्मचारी पुर्याउनका लागि सरकारले १ लाख ३८ हजार १ सय ७८ कर्मचारीलाई समायोजनमा लैजान लागेको छ । त्यसका लागि सरकारले अनलाइन सफ्टवेयरसमेत सुरु गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ट्रेड युनियनसंग छलफल गरेर समायोजन अध्यादेश ल्याएको जानकारी गराएका छन् ।
उनले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने बताए । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने उनको भनाई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै २१ दिनभित्र संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन आवेदन दिन भनेको हो ।
“यो सूचना बमोजिम समायोजन हुन आवेदन नगरेमा वा समायोजनका निम्ति तोकिएका सबै प्रक्रिया पूरा नगरेमा वा छनौट गर्नुपर्ने तह छनौट समेत नगरी आवेदन गरेमा सो कारणले मात्र संघ, प्रदेश वा स्थानीय तहमा समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम बाधा नपर्ने व्यहोरा समेत यसै सूचनामार्फत् सूचित गरिएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भनेको छ ।