काठमाडौँ, पुस १३ । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ ।
विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने हेमाटोमा र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनदेखि अलि असहज महसुस गर्दै आएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।
विसं २००४ साल असोजमा जन्मिएका राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत थिए ।
पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ गएका छन ।
राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।