काँकरभिट्टा, पुस १३ । काँकरभिट्टामा आगलागी हुँदा २२ घर जलेर खरानी भएका छन् । मेचीनगर नगरपालिका ६ का आगलागी पीडित धनवीर तामाङ आगो लागेको ३० मिनेटमा मात्र दमकल आएकोमा आक्रोस व्यक्त गरे ।
दमकल आउँदा दुईवटा घर ध्वस्त भइसकेका थिए। दमकल आए पनि ट्यांकीमा एक चौथाई पानी बोकेर आएको भन्दै स्थानीयबासीले नगरपालिका नेतृत्वको आलोचना गरिरहेका थिए।
दमकलले राम्ररी काम गरेको भए कम्तीमा १० वटा घर बाँच्ने थिए। बेलुका करिब ८ बजेतिर लागेको आगो राति करिब १० बजे मात्र नियन्त्रणमा आएको थियो। मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा रहेको साठीविघामा आगो लाग्दा २२ वटा घर जलेका छन्।
मेचीनगरकै दमकल ढिला आएको भन्दै स्थानीयवासी आक्रोसित भइरहँदा नगरपालिकाका प्रमुख विमल आचार्यले भने दमकल समयमै आगलागी नियन्त्रणका लागि आइपुगेको दाबी गरेका छन्।
आगलागी पीडित धनवीर तामाङले उनको करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको बताए। आगलागी क्षेत्रमा रहेका धेरै घरहरुमा पसल थिए। अहिले कुनै पसल बाँकी रहेनन्।
आगलागी भएको स्थानमा रहेको छविलाल सुब्बाको घरबाट आगो उठेको आगलागी पीडितहरुले बताएका छन्। बेलुका टुकी बालेर ताला लगाएर सुब्बा दम्पती बाहिर घुम्न गएका बेला टुकी लडेर सिलिन्डर ग्यासमा पर्दा उक्त सिलिन्डर एक्कासी विष्फोट भएपछि २२ घर सखाप हुने गरि आगलागीको घटना भएको अर्का आगलागी पीडित गोपाल मिश्रले बताए।