‘अब कोहीपनि भोकै बस्नुपर्दैन, जाडोले कठ्यांग्रिएर कोही मर्नु पर्दैन’ : प्रधानमन्त्री ओली

Diyo post  

काठमाडौँ, पुष १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुशासनयुक्त ढंगबाट विकासको गतिमा अगाडी बढाइने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जेटियुसिसी) को तेश्रो श्रम संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको
अन्त्य गरि मुलुकलाई समृद्धिको मार्गमा डोर्याउने बताए ।

उनले सरकार गठन भएको नौ महिना कानुन निर्माणमा खर्चिएको र अब बाँकी समय मुलुकलाई विकासको दु्रत गतिमा अगाडी बढाउने र दुनियाँले सोचेको भन्दा भिन्न किसिमले नेपालमा विकास गर्ने बताए । सबैको घरमा विकास र समृद्धीको आभास पुर्याउने सरकारको योजना रहेको र त्यसैअनुसार सरकारले तयारी गर्दै गइरहेको उनले बताए । ‘सरकार जनताको घरघरमा छ , ढुक्क हुनुुहोस सरकार तपाईँको साथमा छ ’, प्रधानमन्त्री ओलीले भने ‘अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौँ ।

नेपालबाट गरिबी हटाउने सरकारको मुख्य योजना भएको बताउँदै प्रधानमन्त्री ओलीले केही बर्षपछि नेपालमा गरिब व्यक्ति नभेट्ने समेत स्पष्ठ पारेका छन् । उनले वर्तमान सरकार श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृद्धिविकास र आर्थिक स्थिति सुधार गर्न सधैँ सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले भर्खरै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमीकहरुलाई गरिबिबाट मुक्त बनाउँने समेत प्रधानमन्त्रीले बताए । ‘अब कोही भोकै बस्नुपर्दैन, भोकै मर्नु पर्दैन, भोकभोकै मर्न पनि दिइँदैन, जोडोले कठ्याङिग्रएर कोही पनि मर्नु पर्दैैन’ , उनले भने ‘अहिलेको सरकार जनताको सरकार हो, जनताको चाहना सम्बोधन गर्न सरकार तयार छ ।’ श्रमजीवीलाई मात्र नभएर उद्योगीहरुको पनि हित हुने गरि सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीले बताए । सामाजिक सुरक्षाको कार्यक्रम धेरैका लागि नौलो भएपनि यसले मजदुर र मालिक दुबै पक्षलाई हित गर्ने बताए ।

सरकारले धनि मानिसलाई धनि हुनबाट रोक्ने नभई गरीबलाई धनी बनाउने योजना बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहज रुपमा धान्न पुग्ने गरि कार्यक्रम ल्याइने बताए । सामाजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि थोरै समय लाग्ने भन्दै प्रधानमन्त्री ओलीले केही समय धैर्य गर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित खबर