जग्गा प्रकरण : बीस जनाविरुद्ध सार्वजनिक मुद्दा

दियो पोस्ट  

कञ्चनपुर, पुस १५ । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो । प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक लगाउनुपर्ने माग अघि सारेर गत साता जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि प्रहरीले सार्वजनिक मुद्दा दायर गरी दोषीलाई पक्राउ गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सरकारी जमीन हडपेको आरोपमा आदेशानुसार पक्राउ गरी मुद्दा चलाएको बताउनुभयो ।

पक्राउ पर्नेमा ललित जोशी, पदमराज जोशी, मेघराज जोशी, धुव्रराज भट्ट, यज्ञराज ओझा, कमलापति भट्ट, मीना जोशी, रामनाथ योगी, हर्कबहादुर खडायतलगायत रहेका छन् ।

खोकाछाप्राका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेर एक महीनाभित्र बनेका संरचना हटाएर लैजाने आदेश दिने त्यसका विपरीत रातिका बेला आएर घर तोड्ने र पक्राउ गर्ने कार्य गरिएको खोकाछाप्रा समितिका खेमराज ओझाले बताए ।

सम्बन्धित खबर