चार बजेपछि संसदका कर्मचारीले काम गर्न नमान्दा प्रधानन्यायाधीश सिफारिश जबराको सुनुवाइ स्थगित
काठमाडौँ, पुष १५ । प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाई समिति स्थगित भएको छ । चार बजेपश्चात संसदका कर्मचारीहरुले काम गर्न छाडेपछि सुनुवाई स्थगित भएको हो ।
दिउँसो २ बजे शूरु भएको बैठकको सुरुमा जबराले १५ बुँदे आफ्नो कार्ययोजना पेश गरे । लगतै सांसदहरुले प्रश्नहरु राख्ने क्रम सुरु भयो । अपराहृनको ४ बज्नै लाग्दा सभापति लक्ष्मणलाल कर्णले अब तीन मिनेट मात्र बाँकी छ भएको सूचना दिए, जतिबेला बैठकको सञ्चार कक्षमा जम्मा भएका कर्मचारीहरु हेरिरहेका थिए ।
चार बजेपछि कर्मचारीहरु फाईल बोकेर जर्याकजुरुक उठेका थिए । सुनुवाई समितिका सदस्यहरुले प्रस्तावित प्रधानन्यायधीश जबरालाई प्रश्नहरु सोधिरहेका थिए । अन्य कर्मचारी उठेर फाईल बोकेर गएपनि महासचिव लगायतका पदाधिकारी भने बसिरहेका थिए ।
कर्मचारी उठेपछि सभापति लक्ष्मणलाल कर्णले जबराको सुनुवाइ सोमबार ११ बजे राख्ने प्रस्ताव गरे। समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरूल पुस १६ गते आफूहरू राष्ट्रिय मेलमिलाप दिवसमा सहभागी हुनुपर्ने बताएपछि सुनुवाइ मंगलबार ११ बजेका लागि सरेको छ।
विभिन्न माग राख्दै आन्दोलित बनिरहेका कर्मचारीहरुले संसदमा पनि आफ्नो आन्दोलनको स्वरुप देखाएका छन् । उनिहरुले. १० बजेदेखि ४ बजसम्म भन्दा बढी काम गर्दा सरकारले अतिरिक्त पारिश्रमिक पाउनुपर्ने माग राखेर आन्दोलित छन् ।
कर्मचारीको आन्दोलनले यसअघि संसद र समितिका बैठकहरू पनि प्रभावित हुँदै आएका थिए।