काठमाडौं, १६ पुस । कांग्रेस महासमितिको बैठक २९ पुसमा सुरु हुँदा जति सौहाद्र्रताका साथ सुरु हुनुपर्ने हो भएको थिएन । उद्घाटन सत्रमैं मञ्चमा सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच घोचपेच हुँदा महासमिति बैठक निक्कै तनावपूर्ण हुने देखिएको थियो । तर, पदाधिकारी थप गर्ने र सबै निर्वाचित गर्ने सहमतिपछि यी दुई नेताबीचको आपसी तिक्तताको पारो एक्कासी तलसम्मै ओर्लिएको छ । महासमिति बैठक समापनसम्म आइपुग्दा यी दुई नेताले पार्टी एक भएको सन्देश मात्रै दिएनन् । दाबी नै गरे ।
समापन भाषणमा निक्कै उत्साहपूर्ण चेहराका साथ भाषण गरेका नेता पौडेलले महासमिति बैठकबाट पार्टी एक भएर अगाडि बढ्न लागेको भन्दै उत्साहपूर्ण भाषण गरे । प्रायः देउवातिर निक्कै नै आक्रामक हुँदै आएका पौडेल महासमितिको समापनमा यसरी कोल्टे फर्र्किंदै देउवातिर नरम देखिएपछि धेरै आश्चर्य पनि माने । महासमिति बैठककै दौरान पनि पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नै प्रस्तुत गरेपछि देउवा पक्ष आक्रोसित भएको थियो । तर, देउवाले प्रस्ताव आउँदैमा आत्तिहाल्नुपर्दैन भन्दै आफू निकटका नेतालाई शान्त पारेका थिए ।
देउवाको ‘डिप लभ’ प्रसंग
महासमिति समापन कार्यक्रममा सभापति देउवाको पनि उत्साहपूर्ण भाषण थियो । अघिपछि निक्कै आक्रोश र तनावपूर्ण रुपमा बोल्ने देउवाले निक्कै शान्तपूर्वक बोल्दै केटाकेटीको डिपलभ जस्तै रामचन्द्र पौडेलसँग पनि डिप लभ रहेको बताएर धेरैलाई आश्चर्य पारे ।
त्यसपछि पनि निरन्तर दुवै नेता सक्रिय
महासमिति सकिएकै भोलिपल्ट सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई बिहानको चियापान दिए । तर, सोही दिन राती गौशालास्थित अनुपम फुडल्याण्डमा पौडेलले रात्रीभोज दिए । उनीहरुको संयुक्त कार्यक्रम यत्तिमै रोकिएन । दुई दिन लगत्तै देउवा र पौडेलले संचारमाध्यमका सम्पादकहरुलाई डिनर दिए । त्यसको भोलिपल्ट गत शुक्रबार कांग्रेस विट हेर्ने पत्रकारहरुलाई बोलाएर आफूहरुका र पार्टीको कमजोरीबारे दुवै नेताले सुझाव मागे ।
थपिएका पदाधिकारीले नजिक ल्यायो देउवा–पौडेललाई ?
पदाधिकारी बढाउँने वा नबढाउँने भन्नेमा निरन्तरका बैठकमा सहमति नहुँदा कांग्रेस महासमिति बैठक निक्कै पेचिलो हुने देखिएको थियो । तर, १४ पदाधिकारी बनाएर कोषाध्यक्षबाहेक पदाधिकारी निर्वाचित गर्ने सहमतिपछि पौडेलको आक्रामक शैलीमा ब्रेकमात्रै लागेन ।
उनले सभापति देउवाको विरोध गर्नै छोडेका छन् । दुई उपसभापति र दुई महामन्त्री हुने भएपछि पौडेलले पनि निक्कै राहत महसुस गरेका हुन सक्छन् । यस अघि १३ औं महाधिवेशनमा पौडेल देउवासँगै सभापतिमा पराजित भएका थिए ।
सभापतिका लागि पौडेलको शक्ति भनेको पूर्व संस्थापन अर्थात् कोइराला परिवारसहितका प्रकाशमान सिंह, डा. रामशरण महतसहितकै नेता हुन् । एकपटक पौडेललाई सभापतिमा उम्मेदवार बनाएपछि अब १४ औं महाधिवेशनमा पौडेललाई कोइराला परिवारले सभापतिको उम्मेदवार मान्ने र बनाउँने सम्भावना एकदमै कम देखिन्छ । किनकी महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाले सभापतिमा दाबेदारी बढाउँने गरी सक्रियता देखाएका छन् ।
यस्तोमा पौडेल सबैभन्दा पीडामा परेको देखिन्छ । किनकी उनी कोइरालालाई मानेर जाने सबैभन्दा ठूलो सम्भावनाको नजिक छन् । नभए जसरी पनि सभापतिमा भिड्न खोज्दा उनलाई उम्मेदवार बनाउँन कोइरालाहरु तयार हुने जस्तो देखिंदैन । यस्तोमा पौडेलले अहिलेदेखि नै बार्गेनिङ गर्नेजस्तो देखाइसकेका छन् । अहिले देउवासँग मिल्न खोजेको जस्तो गरेर पौडेलले कोइरालाहरुलाई दबाब बढाइसकेका छन् ।
आफू निकटका महाधिवेशन प्रतिनिधिको बलमा पौडेल जित्न सक्दैनन् । यो सबैलाई थाहा छ । तर, जिताउन र हराउनका लागि निर्णायक मानिने मत भने पौडेलसँग रहेको छ । यस्तोमा उनी जता समर्थन गर्छन् उतैकाले जित्ने सम्भावना हुन्छ ।
सिटौला पक्ष र पौडेलले जुन गुटलाई समर्थन गर्छन् त्यो गुटले सभापतिमा बाजी मार्ने सम्भावना धेरै रहेको छ । यस्तोमा थप गरिएको उपसभापतिमा पौडेलले चित्त बुझाएर देउवालाई सभापतिमा समर्थन गर्न सक्ने देखिन्छ । यस्तो हुँदा पार्टी संसदीय दलको नेता पौडेललाई बनाउन देउवाले समर्थन जनाइदिंदा उनी मान्न सक्छन् ।
किनकी पौडेलले एकपटक की प्रधानमन्त्री की पार्टी सभापति भएरै छाड्ने संकल्प लिएका छन् । अर्को निर्वाचनसम्म कम्युनिष्ट सरकारको अलोकप्रियता भएर कांग्रेस सबैभन्दा ठूलो दल बन्दैन भन्न पनि सकिन्न ।
यस्तोमा सरकार बनाउँदा पौडेललाई कांग्रेसबाट मौका आउँन सक्छ । देउवाले यो प्रस्ताव राखेर पौडेललाई आफूतिर आउँनका लागि प्रेरित गरेका पनि हुन सक्छन् ।
साथै, सबै पदाधिकारी निर्वाचित गराउनका लागि आफूले निर्णायक भूमिका खेलेको भनेर पौडेल विजयी मुद्रामा छन् । नेपालमा मात्रै होइन, दक्षिण एसिया र सिंगो विश्वमैं कांग्रेसले सबै पदाधिकारी निर्वाचित गर्ने विधान बनाएर लोकतान्त्रिक प्रक्रियामा आफूलाई माथि उठाएको भन्दै पौडेलले गर्व गरेका छन् ।
यस्तोमा १४ औं महाधिवेशनको सम्भावित समीकरण बुझेरै पौडेलले देउवातिरको व्यवहार नरम बनाएको चर्चा कांग्रेसमा चल्न थालेको छ ।