काठमाडौं, १६ मंसिर । पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारिन् । सशस्त्र प्रहरी बलमा कार्यरत सोनी विगत ६ वर्षदेखि सशस्त्र प्रहरी बलको खेलकुद विभागमा कार्यरत थिइन् ।
ट्रायथलनमा फेवातालमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड पार गरेर निकटतम प्रतिद्वन्दीलाई हराएकी सोनीले दियोपोस्टसँग संक्षिप्त कुराकानी गरेकी छिन् ।
‘म नेपाललाई पदक दिलाउने दृढता सहित विगत केही वर्षदेखि नै प्रतिक्षामा थिएँ । त्यो समय आज आयो । म धेरै खुसी छु । धेरै साथीहरुले सम्पर्क गरेर बधाई दिनु भएको छ,’ सोनीले भनिन्,‘उहाँहरुलाई धन्यवाद छ । आगामी दिनमा अझै राम्रो गर्ने मेरो कोशिस रहनेछ ।’
विगत ४ वर्षअघिदेखि नेपालमा शुरु भएको ट्रायथलन खेल अन्य खेलभन्दा निकै पृथक खेल भएको सोनीले बताइन् ।
धादिङको सिद्धलेक गाउँपालिका स्थित कालिदहमा स्थायी बसोबास गर्दै आएकी सोनी ६ वर्षअघि सशस्त्र प्रहरी बलमा भर्ना भएकी थिइन् । उनी बाल्यकालदेखि नै खेलकुदमा लगाभ राख्ने गरेको उनकी दिदि लक्ष्मी गुरुङले बताइन् ।
‘उ बच्चादेखि नै केटा स्वभावको थियो । केहीसँग पनि नडराउने, खेलकुद भनेपछि हुरुक्कै हुन्थ्यो । बच्चा उमेरमै जिम्न्यानिष्टकहरु गर्ने सोनीको स्वभाव थियो,’ दिदि लक्ष्मीले दियोपोस्टसँग भनिन्,‘मुर्ख स्वभावको थियो । बुछिमान पनि थिइन् । उनले पदक जितेको सुन्दा मलाई असाध्यै खुसी लागेको छ ।’
१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भएको ट्रायथलन प्रतिस्पर्धा सोमबार सम्पन्न भएको थियो ।