
काठमाडौँ, मंसिर २२ । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगंज जाँदै गरेको ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्दै गरेकी बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
बालिकालाई ठक्कर दिने ट्रक समेत विद्यार्थीले जलाएका छन् । अहिले विद्यार्थीहरुले सडकमा उत्रिएर आन्दोलन गरिरहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ । विद्यार्थी तथा स्थानीयहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेपछि स्थानीयहरुले प्रहरीमाथि नै आक्रमण गरेको बताइएको छ । स्थानीयहरुको आक्रमणले इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम शाही समेत घाइते बनेका छन् । घाइते शाहीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।
अहिले कोहलपुरको स्थिति नियन्त्रणबाहिर रहेको समेत बताइएको छ । सडकमा उत्रिएका विद्यार्थी र स्थानीयले मृतक बालिकाको न्यायको माग गर्दै सडक अवरुद्ध पारेका छन् ।