दियोपोस्ट संवाददाता
मलेशिया, २ मंसिर । मलेशियामा रहेको लालीगुराँस रेष्टुरेन्टका मालिक कृष्ण आङदेम्बेले नक्कली रक्सीको धन्दा चलाएका कारण जेल परेका कुल विक्रम नेम्वाङले दियोपोस्टका प्रतिनिधिलाई जेलमै भेटेका छन् ।
गत वर्ष जनवरीमा मलेशियन कष्टमले छापा मार्ने क्रममा नक्कली रक्सी सहित समातिएका कुल विक्रम नेम्वाङ यतिबेला जेलमा छन् । मलेशियन अदालतले उनलाई २०१७ मार्च १ देखि सन् २०२० मे सम्म जेल सजाय तोकेको छ ।
झापाको दमक घर भएका कुल विक्रम यतिबेला मलेशियाको जोहोर राज्य अन्तर्गत कुलुवाङस्थित जेलमा छन् । उनले जेलबाट आफूलाई कृष्ण आङदेम्बेले काम गर्न मलेशिया ल्याएको र कृष्णकै निर्देशन अनुसार काम गर्दा पक्राउ परेको बताए । अदालतले तोके अनुसार ३ वर्ष ३ महिना जेल जीवन विताइरहेका बताएका उनले आफूलाई आङदेम्बेले फसाएको समेत बताए । नेम्वाङले आफूलाई आङदेम्बेले नै फसाएको भन्दै क्षेतिपूर्ति सहित बाचुन्जेलसम्म तलब दिनुपर्ने माग समेत गरेका छन् ।
‘केही पैसा कमाएर परिवार पाल्ने सपना बोकेर मलेशिया आएको थिएँ । सबै सपना चकनाचुर भयो । ३ वर्ष जेलमा बसिसकेको छु । तर मेरो परिवारले एक सुको पैसा पाएको छैन,’ जेलबाटै नेम्वाङले भने,‘मलाई न्याय दिनु पर्यो ।’
उनले आफुलाई न्यायका लागि पहल गर्न नेपाली दूतावास मलेशिया र सञ्चारकर्मीलाई समेत अपिल गरेका छन् ।
त्यस्तै लालीगुराँस रेष्टुरेन्टकै नक्कली रक्सी धन्दाको फन्दामा परेकी रेस्मा लिम्बु भने १२ जनवरी २०२० मा हुने अदालतको फैसला कुरी रहेकी छिन् । उनी पनि मलेशियाको जोहोरबासकै पान्ताइ जेलमा छिन् । रेष्टुरेन्ट मालिक कृष्ण आङदेम्बेको पासपोर्ट समेत मलेशियन कष्टम विभागले कब्जामा लिएको छ ।
उनले आफ्ना कामदारको उद्दारको लागि पहल गरिरहेको बताएपनि हालसम्म कुनै नतिजा भने आइसकेको छैन । जनवरी १२ मा आङदेम्बेले मलेशियन कष्टमलाई सेटलमेन्ट नगरे रेश्माले समेत मालिकले गरेको धन्दाको सिकार हुनुपर्ने छ । अर्थात २ देखि ३ वर्षको जेल सजाय भोग्नुपर्ने हुन्छ ।