रेष्टुरेन्टको अवरणमा ‘ठगीधन्दा’ : साइप्रस पठाउने भन्दै काठमाडौंमै ठगिए दर्जनौ युवा !

दियोपोस्ट संवाददाता

काठमाडौं, ९ पुस । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण विश्व यतिबेला संकटकालिन अवस्थामा छ । कोरोना महामारीले सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रलाई परेको छ ।


नेपाल, ईन्डानेशिया, साइप्रस लगायत देशको प्रमुख आय स्रोत भनेकै पर्यटन हो । तर, कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र कहिले उठ्ने हो ठेगान छैन । महामारीकै कारण नेपाल सरकारले नेपालबाट अध्ययन वा अति आवश्यक काम बाहेक अन्य काममा विदेश जान प्रतिबन्ध लगाएको छ । श्रम सम्झौता भएको मुलुकमा रोजगारीको लागि विदेश जान समेत सरकारले श्रम स्वीकृत दिएको छैन । तर, यस्तो विषम परिस्थितीमा पनि नेपाली युवा ठगिने क्रम रोकिएको छैन ।

केही ठगहरुले नेपाली युवालाई साइप्रस पठाउने बहानामा लाखौँ रकम उठाएको पाइएको छ । नेपाल सरकारले साइप्रसका लागि श्रम सम्झौता गरेको छ । श्रम सम्झौता अनुसार साइप्रस जान बढीमा एक लाख २० हजार रुपैयाँसम्म लाग्ने गर्दछ । तर, कोरोना महामारीको केही दलालहरुले लाखौँ रुपैयाँ ठगेर नेपाली युवालाई विचल्ली बनाएको पाइएको हो ।


त्यसो त जनवरी ७ सम्म लकडउनमै रहेको साइप्रसको प्रमुख स्रोत भनेकै पर्यटन हो । होटल,रेष्टुरेन्ट क्षेत्र पुर्णत प्रभावित भएको अवस्थामा होटलमै डेमान्ड आएको छ भन्दै नक्कली डेमान्ड देखाएर ठगी गर्ने गरेको पीडित युवाहरुको गुनासो छ ।

विगत केहिदिनदेखि हरि बुढाथोकीको नाममा रहेको हरि धमलाको मोबाइल नम्बर ९८४२६०५००५ र ९८४२६०५००५ को ह्वाट्स एपबाट साइप्रसको हिल्टन होटलमा विभिन्न पदमा रोजगारी खुलेको छ भन्दै ठगी हुन थालेको हो । मध्य बानेश्वर स्थित रोयल मिमिक रेष्टुरेन्टमा नक्कली कार्यालय समेत खडा गरि उनीहरुले ठगीधन्दा चलाउँदै आएका छन् ।

स्रोतका अनुसार ठगहरुले उक्त रेष्टुरेन्टकी सञ्चालिका माया बस्नेतलाई नै एजेन्ट बनाएका छन् । मायाले केही व्यक्तिसँग आफू आधिकारिक एजेन्ट रहेको भनदै ६ लाख ५० हजारदेखि ७ लाख रुपैयाँसम्म लाग्ने भन्दै प्रति व्यक्ति १ लाख रुपैयाँको दरले अग्रिम भुक्तानी असुलेको पाइएको छ ।


विगतदेखि नै विभिन्न व्यक्तिलाई साइप्रस पठाउने भन्दै काठमाडौंका होटलमा बन्धक बनाएर राख्ने उनीहरुको पासपोर्ट जफत गर्ने लगायतको गतिविधि भएको समेत स्रोत बताउँछ ।


श्रम संझौता हुन अघि हरेक कामदारले ओरेन्टेशन गर्नुपर्ने हुन्छ । तर मायाले ‘तपाईंको श्रम भईसकेको छ हामी डाइरेक्ट सेटिङमा काम गर्ने हो’ भन्दै झुक्याउने गरेको एक पीडितले दियोपोस्टलाई बताए । तर युवाहरु दिनदहाडै ठगिएपनि वैदेशिक रोजगार विभाग मौन छ ।

सम्बन्धित खबर

सिफारिस