काठमाडौं, १३ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमत्री केपी शर्मा ओली इतिहासमा कलंकित भएको बताएका छन् ।
नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको भेलामा बोल्दै प्रचण्डले भने,‘केपी ओली ईतिहासमा पराजित हुनुभयो । कलंकको टिका लगाउनु भयो । फेरी एक पटक हाम्रो विजय अभियान शुरु भएको छ । हामी संविधानको पक्षमा र सत्यको पक्षमा छौँ । संघीय लोकतान्त्तिक गणतन्त्रको पक्षमा छौँ । राष्ट्रको एकता, जनताको हक अधिकारको पक्षमा छौँ ।’
शनिबार नेकपाको मुख्यालाय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले आफूहरु लोकतन्त्रको पक्षमा सडकमा आएको समेत बताए ।
‘कतिपयले म, माधव नेपाल र झलाथ खनाल सडकमा पलेटि कसेको देख्दा चिन्ता गरेर ल यीनीहरु त सडकमा पुगे भनेको देखिन्छ । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन जनताको बीचमा पुग्यौँ । केपी ओली श्री ३ महाराज जंगेको बाटोमा हिँड्नुभयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो । हाम्रो विजयको शुरुवात फेरी भयो,’ उनले भने,‘पहोरको केन्द्रीय समिति बैठक सफल भयो । तर, त्यो सफलता केपीजी र सानो गुटको लागि सह्य भएन । त्यसपछि उहाँले मेरो कुर्सी हटाइदिनुभयो । उहाँले प्रचण्डलाई नामेट पार्छु भनेर मेरो कुर्सी सारिदिनुभयो । मलाई अरु ७ जना सचिवालय सदस्यहरुसँगै लुसुक्क बसेँ ।’
आफ्नो कुर्सी हटाउँदा माधव नेपालले विरोध गरेको समेत उनले स्मरण गरे । ‘माधवजी अहिले भन्नुहुन्छ म भए त्यो कुर्सी लगेर उसैको आडमा राखेर उता जानुस् भन्थेँ । मैले भनेँ केपी जी तपार्ईंलाई धन्यवाद छ । मलाई तपाईंसँग बस्न अफ्ट्यारो लागेको थियो साथीहरुसँग मिलाइदिनुभयो । म बलियो भएँ,’ प्रचण्डले भने,‘आज मैले एउटा अन्तर्वार्तामा भनेको छ ओलीजीलाई धन्यवाद तपाईंले हामीलाई जनतामा जाने नारा मुद्दा दिनुभयो । अर्को चुनाव हामीले जित्छौँ ।’
यसअघि आफूहरुलाई ज्ञानेन्द्र शाहको भिलेन रुपले जनतालाई हिरो हुन मद्दत गरेको समेत उनले स्मरण गरे । ओलीको कदमले आफूहरुलाई फेरी जनतामा जोड्ने काम गरेको उनले बताए । ‘आफूले ईतिहासको कलंकको टिका लगाए । हामीलाई जनताको बीचमा जाने बाटो बनाइदिए । त्यसकारण कमरेडहरु टेन्सन लिनुपर्ने केही पनि छैन,’ उनले भने,‘बाजी हामीले जिति सकेका छौँ । जुन दिन केपीले संसदलाई कुल्चीएर संसद विघटन गरेर लोकतन्त्रको हत्या गरे त्यसैदिन उनी पराजित भए ।’