हिन्दु राष्ट्रको वकालत गर्ने जिम्मा किराँती नेतामा

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर १९, २०७८ | ११:३२:४१

काठमाडौं- रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई विजयी बनाएपछि परम्परागत रुपमै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविष्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ ।

हिन्दु धर्म र राजसंस्थाका कट्टर पक्षपाती सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ ।

राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दुले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन् । लिङ्देन  किराँत धर्म मान्छन् ।  तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन् ।

पहिलो पटक गैर हिन्दुले नेतृत्व गरेको पार्टीले अब हिन्दु राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन् । प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् ।

निवर्तमान संस्थापनका नेतासँग सहकार्य गरेर अब लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्न कति चुनौती खेप्लान, त्यो हेर्न बाँकी छ  । तर, परम्परागत नेतृत्वलाई युवा पुस्तामा ल्याउन राप्रपाका प्रतिनिधिले पुर्‍यएको विवेकले अन्य दललाई समेत नेतृत्व हस्तान्तरणका लागि दबाब भने अवस्य दिएको छ ।

को हुन् राजेन्द्र लिङदेन?

राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् ।

लिङदेन राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भएका थिए  । ०४९ सालमा विद्यार्थी संगठनको अध्यक्ष भए पनि लिङ्देन ०४७ मै झापामा राप्रपाको पार्टी सचिव भइसकेका थिए ।

लिङ्देन पार्टी सचिवकै हैसियतमा वडाध्यक्षमा निर्वाचित भएपछि झापामा प्रभाव विस्तार गरेका थिए । जसले गर्दा ०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भए । कमल थापाले नेतृत्व गरेको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका लिङ्देनलाई ०६६ सालमा थापाको नेतृत्वकै राप्रपा नेपालले केन्द्रीय सदस्य बनाएको हो । ०७० मा लिङ्देन राप्रपाको महामन्त्री भए ।

०७० मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका लिङदेन त्यसअघि पनि सिटौलासँग नै पराजित भएका थिए । संयोगले ०७४ को निर्वाचनमा तिनै सिटौलालाई पराजित गरेर लिङ्देन पहिलोपटक संसद् छिरेका हुन् । उनै लिङदेन आज राप्रपाको  अध्यक्षमा निर्वाचित भएका छन् ।

सम्बन्धित खबर