त्रुटि भयो, तर हाम्रो नियत गलत थिएनः क्यान अध्यक्ष चन्द

दियो पोस्ट  

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् । तर आफूहरुको नियत गलत नभएको दाबी गरेका छन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले अञ्जानमा त्रुटि भएको बताए । उनका अनुसार क्यानले २०२० जनवरीमा एमओयू गरेको थियो भने एक वर्षपछि पहिलो सम्झौता गरेको थियो । राष्ट्रिय खेलकदु परिषद् (राखेप)को अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको स्वीकार गरेका उनले भने, ‘तर राखेपले अनुमति नदिएसम्म हामीले कुनै पनि काम गरेनौं ।’

सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोट्र्सलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । चन्दले भने, ‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि त्रुटि रह्यो ।’

उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ ।

नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।