अहिलेको संकट टार्न बाबुरामले राखेका तीन विकल्प

दियो पोस्ट  

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीका कारण संविधानको कार्यान्वयन  तथा विकास र समृद्धिका काम अगाडि नबढेको बताएका छन्।

विकास र समृद्धि अगाडि नबढ्दा संकट मडारिएको र युवाहरू आक्रोशित भएको उनले बताए।

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीले देशलाई विकास र समृद्धिलाई अगाडि नबढाउने बताएका हुन्।

संघीयतापछि दुई पटक निर्वाचन भइसक्दा पनि संविधानको कार्यान्वयन तथा विकास र समृद्धि अगाडि नबढ्नुमा शासकीय स्वरूप र निर्वाचन प्रणालीमै त्रुटी रहेको उनको भनाई छ।

‘दुईवटा निर्वाचन भइसक्यो तर विकास  र समृद्धिको विषयमा २० को १९ भएको छैन,’ उनले भने, ‘ अब यही तरिका रहिरहने हो भने मुलुक बन्दैन।’

‘दस पार्टी मिलेर सरकार चलाएका छन्। एउटालाई सम्हाल्दा अर्को उछिटिन्छ। प्रधानमन्त्रीलाई कहिलेसम्म पदि रहिरहने हो भन्ने पीर छ अनि विकास र समृद्धि कहिले आउने?’ उनले अगाडि भने।

त्यसले  देशमा संकट उत्पन्न भएको भट्टराईले बताए।

संकटकबाट मुक्त हुनका लागि भट्टराईले तीन उपाय सुझाएका छन्।

पहिलो सर्वदलीय सरकार। भट्टराईले तत्कालका लागि सबै प्रमुख पार्टीहरू मिलेर सरकार बनाउनुपर्ने बताए। त्यही सरकारले आगामी शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने गरी अगाडी बढाउनुपर्ने उनको भनाइ छ।

जर्मनी त्यस्तै संकट पर्दा एंगेला मर्केलले त्यहाँ दुई प्रतिस्पर्धी दललाई नै सरकारमा ल्याएर संकटबाट देशलाई बचाएको उदाहरण दिए।

‘सबैले मान्ने एकजनालाई प्रधानमन्त्री बनाऔं र पाँचै वर्ष सरकार चलाऔं। भागबन्डा पनि गर्न परेन, नीति कार्यक्रम बनाएर अगाडि बढाऔं,’ उनले भने।

भट्टराईले शासकीय स्वरूपमा स्वीजरल्याण्डको जस्तै प्रणाली पनि अपनाउन सकिने बताए।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाएर जसले जति प्रतिशत मत ल्याउँछ त्यही अनुसार सरकारमा बस्ने स्वीजरल्याण्डको जस्तो प्रणाली अपनाऔं,’उनले भने।

त्यो पनि नसक्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर मात्रै स्थायी सरकार बनाउन सकिने भट्टराईले बताए।

‘यसो नगरेसम्म यही प्रणाली अपनाइने हो भने बन्दैन बन्दैन। युवाहरू देश छोडेर हिँड्ने, हाम्रै छोराछोरी देशमा नबस्ने अनि हामीले लोकतन्त्रको  डम्फू बजाएर मात्र हुन्छ? उनले भने।

TATA ADD