बालकुमारी घटना देखिएको जस्तो छैन, भित्र अर्कै छ : प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना बाहिरबाट देखिए जस्तो नभएको बताएका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको बताए। ‘बालकुमारी घटनामा चिज देखिएकोजस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ,’ प्रचण्डले भने, ‘चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूत गरेको छु।’

उनले घटना भएको दिन शुक्रबार आफू पूर्वनिर्धारित कार्यक्रममा दोलखामा रहेको र काठमाडौं फर्किएलगत्तै घटनाबारे ब्रिफिङ लिइएको बताए। ब्रिफिङ लिँदा बाहिर देखिएजस्तो घटना नभएको आफूले अनुभूति गरेको प्रचण्डको भनाइ थियो ।
साथै उक्त घटना लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन हुन सक्ने बताएका छन् ।

‘म यहाँ सबै कुरा भन्न चाहन्न दुई युवाको जसरी हत्या भएको छ, जसरी गाडी जलाउने काम गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मसँग कुनै प्रमाण त छैन तर कतै लोकतन्त्र र गणतन्त्र विरूद्धको डिजाइन त हैन भन्ने लागेको छ।’

केही गम्भीर छ भन्ने लागेर नै सरकारले घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाएको प्रधानमन्त्री प्रचण्डले बताए।