पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुश्मा प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई मंगलबार जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन राजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।
स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराललाई पक्राउ गरेको थियो ।
कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।