ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणको सञ्चालक समितिमा ४ वर्षका लागि नेपाली कांग्रेसका नेतालाई नियुक्त गरेका छन् ।
कांग्रेस नेता रतनबहादुर ऐर अमरगढी नगरपालिका–४ डडेल्धुराका हुन् । माओवादी बस्नेतले ऐरलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरेका हुन् । विद्युत् क्षेत्रमा विशेषता हासिल गरेका गैर सरकारी व्यक्तिहरुमध्येबाट ऐरलाई नियुक्त गरिएको हो । प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षे जागिर पश्चात उनी कांग्रेस राजनीतिमा सक्रिय छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा गुटका ऐर उनकै गृह जिल्लाका नेता हुन् । उनी महाधिवेशन प्रतिनिधिमा पराजित बनेका थिए । उनलाई देउवा गुटले प्रदेश सभाको समानुपातिकतर्फ सिफारिस गरेको थियो । प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ ३० जनाको नाम सिफारिस गरेको थियो ।
त्यही समानुपातिक कोटामा ऐरलाई सिफारिस गरिएको थियो । ऐरले शेरबहादुर प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर लामो समय काम समेत गरेका थिए । कांग्रेस नेतालाई नियुक्त गरेको भन्दै पाटीभित्र मन्त्री बस्नेतको आलोचना भएको छ भने, कार्यकर्ता संरक्षण नगरेको भन्ने विषयमा पाटीभित्र लामोसमय देखि आवाज उठ्ने गरेको छ ।