सूर्यदर्शन सहकारी ठगी प्रकरणः दुई जना जेल चलान, जिबी राईसहित १५ जना अझै फरार

दियोपोस्ट संवाददाता

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत अपचलनमा थप दुई जना कारागार चलान भएका छन्।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ बुधबार कारागार चलान भएका हुन्।

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए।

उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएपछि जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि न्यायाधीश थापाले अर्याल र गुरूङलाई पुर्पक्षका लागि कारागार चलान गरेका हुन्।

कारागार चलान भएका गुरूङ नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन्।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्।

उनीहरू पनि पुर्पक्षका लागि थुनामा छन्। सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना अझै फरार छन्। उनीहरूले सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिनमा उल्लेख छ।

सम्बन्धित खबर

सिफारिस