सर्लाहीको बरहथवामा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकाको कार्यालय परिसरमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

नगरपालिकामा निर्माणाधीन अस्पतालको विषयलाई लिएर बिहीबारदेखि नै विवाद भएकोमा शुक्रबार झडप हुँदा एक जनाको मृत्यु भएको सर्लाहीका सहायक सिडिओ होमप्रसाद  घिमिरेले दियोपोस्टलाई जानकारी दिए।

मृत्यु हुनेमा बरहथवा नगरपालिका-६ का २७ वर्षीय जयशंकर शाह छन्। सहायक सिडिओ घिमिरेका अनुसार उनको शव स्थानीयले घेरेर राखेका छन्।

निर्माण सम्पन्न हुन लागेको अस्पताल नगरपालिकाले नै चलाउने कि प्रदेश सरकारलाई जिम्मा दिने भन्ने विषयमा विवाद भएपछि शुक्रबार सर्वदलीय बैठक डाकिएको थियो।

बैठककै क्रममा असन्तुष्ट पक्षले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

सहायक सिडिओ घिमिरेका अनुसार नगरपालिका परिसरमा पार्किङ गरी राखिएको गाडीमा तोडफोड र आगजनी भएको छ।

दुइपक्षबीच झडप भएपछि रोक्ने क्रममा केही प्रहरी पनि घाइते भएका छन्।

अस्पताल सञ्चालनको जिम्मा प्रदेशलाई दिनुपर्ने र नगरपालिकाले नै सञ्चालन गर्नुपर्ने भन्ने दुई पक्षबीच शुक्रबारदेखि विवाद भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

अहिले स्थिति केही नियन्त्रणमा आएको सहायक सिडिओ घिमिरेले जानकारी दिए।