
काठमाडौं। सर्लाहीमा बरहथवामा नगर अस्पताल स्तरोन्नतिको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले नगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्तिको तोडफोड भएको, ढुंगामुढा प्रहार भएको लगायत उच्छृंखल गतिविधि लगायत विरोध प्रदर्शनबाट शान्ति भंग हुन जान सक्ने अवस्था देखिएको बताउँदै चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्।
प्रजिअ धमलाले बरहथवाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलमा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।
कर्फ्यु आज साँझदेखि भोलि बिहान ८ बजेसम्म कायम रहने प्रजिअ धमलाले जानकारी दिएका छन्।
नगर अस्पताललाई प्रदेशले हेर्ने कि नगरपालिकाले नै स्वामित्व लिने भन्नेबारे बिहीबारदेखि जारी तनाव शुक्रबार झडपमा परिणत भएको थियो।
दुईपक्षबीच झडप हुँदा बरहथवा नगरपालिका-६ का २७ वर्षीय जयशंकर शाहको मृत्यु भएको छ।
