काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभाका १९ वटै सिटमा उम्मेदवार उठाउने भएको छ।
शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको हो।
एमालेले क-कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गर्न बाँकी रहेको जनाएको छ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि प्रदेशलाई पनि नाम सिफारिस गर्न एमालेले निर्देशन दिइसकेको छ।
प्रदेश कमिटीबाट नाम आउने क्रम जारी रहेको र सबै प्रदेशले नाम सिफारिस गरेपछि उम्मेदवार टुंग्याउने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
बैठकले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिएको उनले जानकारी दिए।
यसअघि राष्ट्रिय सभा निर्वाचनमा एमाले सत्ता गठबन्धनसँग मिल्ने चर्चा चलेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा आफूहरूलाई शून्य नबनाउन एमाले अध्यक्ष ओलीले आग्रह गरेको बताएका थिए।
गठबन्धनमा यस विषयमा पनि छलफल भएको थियो। तर भागबन्डा नमिलेपछि एमालेले उम्मेदवार उठाउने निर्णय गरेको हो।
स्रोतका अनुसार एमालेले कांग्रेस र माओवादी केन्द्रसँगको बैठकमा राष्ट्रिय सभामा ९ सिट माग गरेको थियो। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाले एमालेलाई ५ सिटमात्रै दिन सकिने बताएपछि सम्भावित सहमति टुटेको थियो।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ।