
जाजरकोट । सिन्धुपाल्चोकका तीन स्थानीय तहले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडित परिवारका लागि राहत सामाग्री दिएका छन् ।
जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउपालिकाले जाजरकोट र रुकुम भुकम्प पीडित परिवारलाई राहत सहयोग गरेका हुन। भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई जाडो र चिसोबाट बच्नको लागि तीन स्थानीय तहले सिरक दिएका छन् ।
बाह्रबिसे नगरपालिकाले रुकुम पश्चिमका २ सय तीन घर परिवार र जाजरकोटका ४ सय ४५ घर परिवारलाई १५ लाख बराबरको सिरक बितरण गरेको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।
बस्नेतले भने, “हामीले जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएपछि नगरबाट सहयोग गर्ने घोषण गरेका थियौ । त्यही अनुसार राहत लिएर गएका हौं । अहिले हामीले पीडित परिवारलाई एक थानका दरले सहयोग गरेको छौं । ”
नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमको लागि ६ सय ५४ थान सहयोग गरेको उनले बताए ।
बिगतमा आफूहरुले पनि जिल्लामा धेरै विपत्ति भोगेको र पिडामा गरेको सहयोगले नागरिकमा धेरै आशा हुने भएका सहयोग गरिएको बस्नेतको भनाई छ ।
त्यस्तै भोटेकोसी गाउपालिकाले पश्चिम रुकुमका २ सय परिवार र जाजरकोट गरि २ सय ३० थान सिरक सहयोग गरेको गाउँपालिका अध्यक्ष पासाङ नोर्ब शेर्पाले बताए । उनले भने, “हामी आफै पीडित तथा प्रभावित क्षेत्रमा आएर सहयोग गरेका छौ, हामीले दिएको सहयोग प्रत्यक्ष पीडित परिवार पाए त्यसैमा आफुलाइ खुसी लागेको छ ।”
त्रीपुरा सुन्दरी गाउँपालिकले पश्चिम रुकुममा ३ सय ५० थान र जाजरकोटमा ८० थान न्यानो सिरक दिएको त्रीपुरा सुन्दरी गाउपालिकाले जनाएको छ।
भुकम्पछि सिन्धुपाल्चोकका यी तीन स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।
सरकार सहयोग नगर्दा जाडोमा वृद्ध, बालबालिका र सुत्केरी महिलालाइ चिसोका कारण ज्यान गइररहेको पीडितहरुको गुनासो छ ।
गत कार्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।