काठमाडौं । बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार भएका रियल गोर्खा बचत तथा ऋण तथा सहरकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीका अध्यक्ष हर्क बहादुर कठायत र सदस्य विनोद कुमार ओझालाई प्रहरीले पक्राउ गरेको हो ।
डोटीको शिखर नगरपालिका–७ का ३१ वर्षिय कठायत सर्वसाधारणको १२ करोडभन्दा बढी रकम कुम्ल्याएर भागेका थिए । सहकारीका अध्यक्ष कठायतसहति सदस्य काभ्रेको धुलिखेल नगरपालिका–११ का ३५ वर्षिय ओझालाई पनि प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका अध्यक्ष कठायत र सदस्य ओझालाई प्रहरीले पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय रहेको सहकारीले जोरपाटी र भक्तपुरमा शाखा कार्यालय सञ्चालन गरी रकम उठाएका थिए।
बचतकर्ताहरूले हालसम्म दिएको जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ ९२ पैसा बचत रकम अपचलन तथा हिनामिना भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)का सूचना अधिकारी एवं प्रहरी उपरिक्षक नबराज अधिकारीले जानकारी दिए ।
सहकारी सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।
मासिक/त्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता दिएका थिएनन् ।
बतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।