
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका–१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले वैदेशिक रोजगारीका लागि सर्बिया पठाएर प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलब कमाई हुने काम लगाइदिन्छु भन्दै पटक–पटक रकम असुलेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिकाश घलेलाई काठमाडौं महाबौद्धबाट र संजयलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
यस्तै, पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख १५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–५ घर भई काठमाडौं तार्केश्वर को जरंखु बस्ने ३० वर्षीया पुजा श्रेष्ठ पक्राउ परेकी छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा रकम ठगी गर्दै आएकी थिइन् ।
त्यसैगरि मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३१ शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानु पनि पक्राउ परेका छन् । विन्दालालले १ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै पीडितबाट रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । यद्यपी विन्दालालले भने कति रकम ठगी गरेको हो भन्ने प्रहरीले खुलाएको छैन ।