सर्वोच्च र उच्च अदालत न्यायाधीश नियुक्तिपछि परिषद्ले थाल्यो जिल्लाका लागि प्रक्रिया

दियोपोस्ट संवाददाता

काठमाडौं । न्यायाधीशको नियुक्ति, सिफारिस र कारबाही गर्ने अधिकार पाएको न्याय परिषद्ले जिल्ला अदालतमा रिक्त न्यायाधीश पूर्तिका लागि प्रक्रिया सुरु गरेको छ । सर्वोच्च र उच्च अदालत न्यायाधीश नियुक्तिपछि परिषद्ले जिल्लाका लागि प्रक्रिया थालेको हो ।

संविधानको धारा १४९ मा जिल्ला न्यायाधीश नियुक्तिको व्यवस्था गरिएको छ । उक्त धारामा जिल्ला न्यायाधीश परीक्षाबाट पूर्ति गरिने भनिएको छ। त्यसका लागि ३ वटा सर्तहरु संविधानमा राखिएको छ। लिखित परीक्षाबाट ८० प्रतिशत न्यायाधीश नियुक्ति गरिन्छ भने बाँकी २० प्रतिशत न्याय परिषद्ले सिफारिस गरी सिधै नियुक्ती गर्न पाउँछ।

रिक्त पदमध्ये न्याय सेवाको राजपत्राकिंत द्वितीय श्रेणीको पदमा ३ वर्ष काम गरेकालाई सिधै नियुक्ती दिन पाइन्छ, तर यस्तो नियुक्तिको कोटा २० प्रतिशत मात्र हुन्छ । त्यस बाहेक ४० प्रतिशत न्याय सेवाका कर्मचारी र ४० प्रतिशत कानुन व्यवसायीका लागि संविधानले छुट्टाएको छ ।

यही व्यवस्थाका कारण परिषद्को केही दिन अघि बसेको बैठकले प्रतिशत निर्धारण गरेको छ । परिषदले ५३ जिल्ला न्यायाधीशको विज्ञापन गर्नुपर्ने ठहर गरेको छ । जसमा ज्येष्ठता/कार्यक्षमतामा १० जना, आन्तरिक खुल्लामा २१ र खुल्लामा २२ जनाको कोटा निर्धारण गरिएको छ ।

हाल ४० भन्दा धेरै जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेको छ । केही जिल्ला अदालतमा छिट्टै रिक्त हुने भएकाले परिषद्ले ५३ जनालाई आधार मानेर प्रतिशत निर्धारण गरेको हो।

सम्बन्धित खबर